Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


फेरि सर्‍यो कांग्रेस महाधिवेशन : नेता मिलाउन सहमहामन्त्री थप्ने रणनीति


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति फेरि सारिएको छ। यसअघि केन्द्रीय समितिले मंसिर ९ देखि १३ का लागि तोकेको महाधिवेशन कार्यतालिका बिहीबार केन्द्रीय निर्वाचन समितिले २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्नेगरी सारेको हो।

विधानअनुसार चार वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेमा कांग्रेसले साढे पाँच वर्षभन्दा बढी समय गुज्रिसक्दा पनि गर्न सकेको छैन। यसअघि आधा दर्जन पटकजति महाधिवेशन मिति संशोधन भइसकेको छ। पछिल्लोपटक कांग्रेस पदाधिकारी बैठकले संशोधित कार्यतालिका ल्याउन निर्वाचन समितिलाई जिम्मा दिएको थियो।

निर्वाचन समितिको विज्ञप्तिमा अब मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने उल्लेख छ। तर, केन्द्रीय नेतृत्व चयन प्रक्रिया भने मंसिर २१ बाटै सुरु हुने विज्ञप्तिमा जनाइएको छ।

रसुवा र रौतहटमा क्रियाशील सदस्यता विवाद सुल्झन नसकेको अवस्थामा संशोधन गरिएको महाधिवेशन कार्यतालिका अनुसार सातवटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ। रसुवा र रौतहटबाहेक अन्य जिल्लाको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले पालिका अधिवेशन सकेका ४६ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन मंसिर ३ का लागि तोकेको छ। त्यस्तै, प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र भएका जिल्ला र क्षेत्रको अधिवेशन मंसिर ६ र जिल्ला अधिवेशन १० गते हुनेछ।

नागरिक