Logo १२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026


दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै, टुँडिखेलमा भब्य समारोहको तयारी


0
Shares

काठमाडौं । दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ । चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी चैत १५ गते टुँडिखेलमा आयोजना गर्न लागेको हो । यसअघिका चार अवार्ड कार्यक्रम विदेशमा आयोजना गरिएको थियो ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिले नेफ्टा अवार्डको घोषणा गरेको हो । दुई वर्षदेखि सो कार्यक्रम आयोजना गर्न सकिएको थिएन ।

नेफ्टाका अध्यक्ष पुष्कर लामाका अनुसार यसअघि नेफ्टाको छैटौँ संस्करण मलेसिय, सातौँ संस्करण कतार, आठौँ संस्करण हङकङ तथा नवौँ संस्करण युनाइटेड अरब इमिरेटस् (युएई)मा आयोजना गरिएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखि कार्यक्रम नेपालमै गर्न लागेको उनले बताए । नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, वर्षको उत्कृष्ट जनजाती चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कूल ३७ विधा समावेश गरिनेछ ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले गरेका राम्रा कुरालाई चलचित्रको पर्दामा उतार्न चलचित्रकर्मीलाई आग्रह गरे ।

अभिनेताद्वय राजेश हमाल र भुवन केसीले नेपाली चलचित्रमा प्राविधिकले गरेको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा पहिलो नेपाली नायिका भुवन चन्द, अभिनेत्री वसुन्धरा भुसाल, गौरी मल्ल, नीता ढुङ्गाना, पवित्रा आचार्य, जेविका कार्की, रिस्ता बस्नेत, चलचित्र निर्देशक तुलसी घिमिरे, रमेश उप्रेती, सलोन बस्नेत, कलाकार सन्तोष पन्त, निर्मल शर्मा, रवीन्द्र खड्का, आनन्द कार्कीलगायत उपस्थित थिए ।