Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


प्रधानन्यायाधीशलाई ‘निकास’ दिन पूर्व न्यायाधीश फोरमको आह्वान


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा एकपछि अर्को विवादमा परेको भन्दै ‘निकास’ दिन पूर्वन्यायाधीश फोरमले आह्वान गरेको छ ।

फोरमको छैठौं साधारण सभामा न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण गर्दै मन्त्रिपरिषद्मा भाग खोजेको प्रकरणमा विवादित बन्नुभएका प्रधानन्यायाधीश स्वयंले निकास दिनुपर्ने जिकिर गरेको छ । प्रधानन्यायाधीश राणाले निकास नदिने हो भने उहाँमाथि निष्पक्ष छानविन गर्न प्रतिनिधिसभालाई फोरमले आग्रह गरेको छ ।

यस्तै फोरमले प्रधानन्यायाधीश राणाको आचरण र व्यवहारमा नै गम्भीर शंका रहेको निष्कर्षसमेत निकालेको छ । न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयं न्यायाधीशहरूकै भएको भन्दै फोरमले न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशहरूलाई अगाडि आउन पनि अनुरोध गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले प्रस्तुत गरेको प्रतिवेदनमा नै प्रधानन्यायाधीशको भूमिकामा उठाइएको, प्रतिनिधिसभा विघटनका मुद्दाहरू लगायत विभिन्न मुद्दाहरूको पेशी सूची तोक्ने सम्बन्धमा विवाद उठेकाले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने उनीहरूको सुझाव छ ।

यस्तै, संवैधानिक अंगमा गरिएको नियुक्तिमा प्रधानन्यायाधीशले पनि भागबन्डा खोजेको, संवैधानिक परिषदसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको संलग्नता र प्रधानन्यायाधीशलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदनको सुनुवाइमा गरिएको ढिलाइले न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु वाञ्छनीय र अनिवार्य फोरमको भनाइ छ ।