
म्याग्दी, पुस २० । मालिका गाउँपालिका ३ अदिभारामा नेपाली कागज उद्योग स्थापना भएको छ ।
वनजंगलमा खेर गइरहेको अर्गेलीको लोत्ता संकलन गरी नेपाली कागज उत्पादन, आयआर्जनको अवसर र रोजगारी सिर्जना गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूह र स्थानीय अगुवाहरुको पहलमा उद्योग सञ्चालन भएको हो ।
वि.स २०६६ मा अदिभारामा स्थापना भएको सोले हब्स प्रा.ली बन्द भएपछि त्यहाँबाट कागज उत्पादन हुन सकेको थिएन भने अर्गेलीको लोक्तासमेत खेर गइरहेको थियो ।
बन्द भएको उद्योगको संरचनालाई व्यवस्थित गरेर अर्को उद्योग सञ्चालन गरिएको सञ्चालक मोतीराज गौतमले जानकारी दिए ।
तनहुँको शुक्ला गण्डकी हाते कागज उद्योगले यहाँको उत्पादन खरिद गर्ने सम्झौता भएको छ । शुक्ला गण्डकी र नेपाल कोरीया प्रविधि (नाइटेक) को सहयोगमा उद्योग परिसरमा पूर्वाधार थप गरिएको छ ।
उद्योगमा दैनिक दुई हजार ताउ (बीस कोरी) कागज उत्पादन गर्ने क्षमता छ भने पाँच जनाले आंशिक रोजगारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्