१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


यी हुन् कांग्रेसबाट राष्ट्रियसभाका उम्मेदवार, राजपाले पनि छान्यो


0
Shares

काठमाडौं, पुस १९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकन्ठमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि १६ जना उम्मेदवारको नाम टुंगो लगाएको जनाइएको छ ।

राष्ट्रियसभा निर्वाचन आउँदो माघ ९ गते हुँदैछ ।

कांग्रेसले प्रदेश नम्बर–१ को दलित कोटामा नीरबहादुर विश्वकर्मा, महिला कोटामा मीना पुलामीमगर र अन्य कोटामा राजेन्द्र घिमिरे, प्रदेश नम्बर–२ को महिला कोटामा नगिना यादव र अल्पसंख्यक/अपांगता कोटामा भोला पञ्जियारलाई उम्मेदवार बनाएको छ ।

यस्तै, प्रदेश नम्बर–३ को अन्य कोटामा हरिशरण श्रेष्ठ र महिला कोटामा छलीकुमारी शर्मा उपाध्ययाय, गण्डकी प्रदेशको अन्य कोटामा सूर्यप्रसाद रेग्मी र महिला कोटामा विमला गौचनलाई उम्मेदवार बनाएको छ ।

प्रदेश नम्बर–५ को अन्य कोटामा बालकृष्ण पाण्डे, महिला कोटामा गिरिजा न्यौपाने र अल्पसंख्यक/अपांगता कोटामा मेराज हलवाई, कर्णाली प्रदेशको अन्य कोटामा डिल्लीराम पाठक र महिला कोटामा सावित्री पौडेललाई उम्मेदवार बनाइएको छ ।

यसैगरी, कांग्रेसले सुदूरपश्चिम प्रदेशको अन्य कोटामा प्रताप ठगुन्ना र महिला कोटामा तुलसी देवकोटालाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले प्रदेश–२ का चार सिटमध्ये दुई सिटका लागि समाजवादी पार्टीसित तालमेल गरेको छ ।

राजपाका उम्मेदवार

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

राजपाले प्रदेश नम्बर–२ को अन्य कोटामा मृगेन्द्रसिंह यादव र अल्पसंख्यक कोटामा शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रदेश–२ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाले चुनावी तालमेल गरी दुई/दुई सिट बाँडेका छन् ।