काठमाडौं, असोज २९ । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा शुक्रबार पायाः खड्ग जात्रा पर्व मनाइएको छ ।
दशमीका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुथीका मानिस निस्कने गर्दछन् ।
यसैविच भीमसेनस्थानमा मानन्धर समुदायले खड्ग जात्रा निकालेका छन् । उनीहरुले लिच्छवीकालिन पचली आजुको खड्ग जात्रा निकालेका हुन् । साथै काठमाडांैमा टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट निलवाराही, यट्खाबाट कंकेश्वरी र मध्यरातमा तलेजु भवानी लगायतका पीठबाट खड्गजात्रा समेत गरेको थियो ।
खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसुरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ । कीर्तिपुरमा पनि महिलाले खड्ग जात्रा निकालेका छन् । यहाँका महिलाले खड्गको सट्टा सिन्दूर दानी बोकेर नगर परिक्रमा गरी खड्ग जात्रा निकाल्ने परम्परा छ ।
किराँतकाल पछिको ठकुरी कालमा काठमाडौ उपत्यकाका सबै जनताले देशको सुरक्षाको लागि तैनाथ हुने गरेकोले शक्ति प्रदर्शनको लागि घरघरबाट हतियार सहित नगर परिक्रमा गर्ने परम्पराको रुपमा पनि यसलाई लिईन्छ ।
प्रतिक्रिया दिनुहोस्