अक्कल कुँवर (इमेज)
काठमाडौं, पुस १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भागबन्डाको आधारमा राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको छ ।
शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले पूर्वएमालेलाई ९ जना र पूर्वमाओवादी केन्द्रलाई ७ जना भाग लगाएर उम्मेदवार टुंगो लगाइएको हो ।
राष्ट्रियसभाको उम्मेदवार चयनमा परेको भागबन्डाको छाया आगामी दिनमा पार्टीले गर्ने निर्णयमा पनि पर्ने देखिन्छ ।
आगामी माघ ९ गते १८ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ दल नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग चुनावी तालमेल गरेर प्रदेश नम्बर–२ को चार सिटमध्ये दुई सिट राजपालाई छोडेको छ ।
बाँकी १६ सिटमा नेकपाले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको आधारमा उम्मेदवार चयन गरेको छ ।
पूर्वएमाले पक्षका देवेन्द्र दाहाल, इन्दु गौतम, तुलसा दाहाल, बेदुराम भुसाल, भगवती न्यौपाने, विमल घिमिरे, गोपाल भट्टराई, सुमित्रा बिसी र शारदा भट्ट छन् ।
पूर्वमाओवादी केन्द्र पक्षका गोपी अछामी, राधेश्याम पासवान, गंगा बेल्वासे, नारायणकाजी श्रेष्ठ, जगप्रसाद शर्मा, मायाप्रसाद शर्मा र तारामान स्वाँर छन् ।
भागबन्डाको आधारमा राष्ट्रियसभाका उम्मेदवार चयनसँगै यसको असर सभामुखको उम्मेदवार चयनमा पनि पर्ने देखिन्छ ।
नेकपाभित्रको पूर्वमाओवादी पक्ष सभामुख पद आफूहरुले पाउनुपर्ने अडानमा छ । तर, पूर्वएमाले पक्ष भने पार्टी एकता टुंगिसकेको अवस्थामा भागबन्डा गर्न नहुने अडानमा छ ।
दुई पार्टीबीचको एकीकरण प्रक्रिया टुंगिसकेको अवस्थामा राष्ट्रियसभा सदस्य उम्मेदवार चयन पूर्वएमाले र पूर्वमाओवादीकै आधारमा भएसँगै सभामुखको उम्मेदवार चयनमा पूर्वमाओवादी पक्षको अडान बलियो भएको छ ।
भागबन्डाको आधारमा चयन भएका राष्ट्रियसभा सदस्य उम्मेदवारहरु प्रतिनिधिसभा, प्रदेशसभा र नगरपालिकाका मेयरमा पराजित भएका पनि समेटिएका छन् ।
गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएका नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।
पराजित भएपछि श्रेष्ठले संसदको वर्तमान कार्यकालसम्म सांसद नबन्ने घोषणा गरेका थिए ।
तर, वर्तमान संसदको पाँचवर्षे कार्यकालमध्ये दुई वर्ष बितेपछि श्रेष्ठ सांसद बन्न राजी भएका छन् ।
गण्डकी प्रदेशबाट महिला कोटामा उम्मेदवार छनोट भएकी भगवती न्यौपाने तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।
यस्तै, प्रदेश–५ बाट अपांगता कोटामा उम्मेदवार सिफारिस भएका जगप्रसाद शर्मा प्रदेशसभा निर्वाचनमा दाङ–३ ‘क’मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरीसँग पराजित भएका थिए ।
यस्तै, प्रदेश–५ बाट महिला कोटामा उम्मेदवार छानिएकी विमला घिमिरे कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।
सचिवालयले सर्वसम्मत् उम्मेदवार टुंगाएको भएपनि पराजितलाई उम्मेदवार बनाइएको भन्दै नेकपाभित्र असन्तुष्टि देखिएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख र सातओटै प्रदेशका ५५० प्रदेशसभा सदस्यले मतदान गर्नेछन् ।
स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यको मतभार भने फरक छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुनेछ ।
आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका १९ सदस्यको पदावधि समाप्त हुँदैछ । माघ ९ गते १८ सदस्यका लागि निर्वाचन हुँदैछ ।
अर्का एकजना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछिन् ।









प्रतिक्रिया दिनुहोस्