
संजिव कार्की
नेकपा भित्रका पूर्व माओवादीका राम्रा नेताको परिचय र छवि नारायणकाजी श्रेष्ठको नेपाली राजनीतिमा परिचय हो । फराकिलो सोच, प्रष्ट वक्ता, राजनीतिक सन्यासी, राष्ट्रवादी अडान, स्वच्छ छवि, नियमको पालक ,समय ब्यबस्थापनलाई ध्यान दिने नेता, जनहत्याको आरोपबाट मुक्त, सादगी ,सालिन ,सरल , चतुर, सार्वजनिक सवारी यातायातलाई सहज ठान्ने, पररास्ट्र मन्त्री हुँदा प्रोटोकल बनाउने, जथाभावी कुटनीतिक भेट र भ्रमणमा रोक लगाउने लगायत प्रशंसनीय कार्य यिनका श्रेष्ठता र योग्यताहरु हुन् । तर चुनावी मैदानबाट सँधै पराजयको भारी बोकेर फर्कने नियति भएका नेता ।
यस्तै विषेशता र विशेषण यिनका अघिल्तिर झुण्डने फुर्का र उपमाहरू हुन । राजनीतिमा ,त्यसमाथि माओवादीमा खराब मान्छे मात्रै छैनन् असल मान्छे र पात्र पनि छन भनेर सबैले उदाहरण दिने पात्र मध्यका एक हुन नेपाली राजनीतिका खेलाडी नारायणकाजी श्रेष्ठ । १४ बर्षको उमेरदेखि राजनीतिमा होमिएका नारायणकाजी पब्लिक युथ कलेजको स्ववियु सभापतिदेखि देशको पराराष्ट्र र उपप्रधानमन्त्रीसम्म बनेका नेकपा भित्रका छैठौं रोलक्रमका विरालकोटिका नेता हुन् । सामान्य परिवारका तर राजनीतिक पृष्ठभूमि भएका गोर्खाली नारायणकाजी कांग्रेस नेता चीनकाजी श्रेष्ठका एकाकोखका भाइ हुन ।
चीनकाजी पूर्व कम्युनिस्ट कार्यकर्ता हुन् भने नारायणकाजी पूर्व कांग्रेस कार्यकर्ता हुन । दुई ध्रवमा राजनीतिको कित्ताकाटमा रहेपनि दाजुभार्इ बीच पारिवारिक खटपट छैन भन्छन यिनीहरुलाई नजिकबाट चिन्नेहरू । पारिवारिक वातावरण बेदखल रहनु उच्च लोकतान्त्रिक संस्कार र आदर्श नमुनाको रुपमा लिने संस्कार हो । वीपी कोइरालासंग सबाल जबाफ गर्दा बीपीले दिएको उत्तरसँग असहमति जनाउदै कांग्रेस राजनीति छोडेर बाम राजनीतिको यात्रातय गरेका श्रेष्ठ तीन पटक राजकाज मुद्दामा जेल गएका छन ।
राजनीतिमा सुद्दताको कुरा गर्ने नारायणकाजी आफैंमा उदाहरणीय कम्युनिस्ट नेता हुन भन्दा धेरैले बिमति जनाउन सक्तैनन् । घर घडेरी, बैंक ब्यालेन्स , कुनै कम्पनीको शेयर अरु स्कुल कलेज र अस्पताल कतैतिर पनि सम्पति नजोडेका, ब्यबसायमा आवद्द नरहेका श्रेष्ठ अपवाद नेकपा नेताहरुमा पहिलो नम्बर तिरै पर्छन । पैतृक सम्पतिको रुपमा गाउँ गोरखामा केही रोपनी पाखो बारी रहेको र सो पनि पार्टी उपभोगको लागि २०५७ तिरै पार्टीलाई दिएको उनको कथन छ । अविवाहित र कुनै लोभ लालच नदेखाउने नेता श्रेष्ठ राजनीतिक सन्यासी नै हुन भन्दा अतिशयोक्ति नहोला । उनी यसकारण पनि राजनीतिक सन्यासी हुन उनको हर खाँचो र खर्च पार्टीले बेहोर्थ्यो । घरभाडा, खाना खर्च, पार्टी कार्यक्रममा देशका बिभिन्न भागमा जाँदाको खर्च, गाडी भाडा लागायत उनका आधारभूत आवश्यकता पार्टीले पुरा गरिदिन्थ्यो । यस मानेमा उनी सच्चा कम्युनिस्ट सिद्दान्तका अनुयायी हुन । महँगो कोसेली उपहार स्वीकार नगर्ने श्रेष्ठ समान्य कपडा, थोरै मूल्यका उपहार साथीभाइसँग स्वीकार गरेर आफ्नो जीवनयापन सहज बनाउने गर्छन । माओवादी र नेकपा एमाले एकीकरण पश्चात भने यो शिलशिला टुटेको अर्थात पार्टीले खर्च दिने शिलशिला बन्द भएकोले आफ्नो आयस्ताको कुनै बाटो सरकारी राजकीय पद संसदसम्म नभएकाले यिनलाई आर्थिक संकट र अप्ठ्यारो परेको कुरा सार्वजनिक छ ।
मेरो प्रश्न पनि यहीँनेर छ नारायणकाजी सँग । के नारायणकाजी आफ्नो आर्थिक ब्यबस्थापन गर्नकै लागि राष्ट्रिय सभाको सदस्यमा उमेद्वार बन्न लागेका हुन ? व्यक्तिगत इच्छा र आवश्यक्ता पूर्ति गर्नका लागि नै देशको राजकीय पदको दुरुपयोग गर्न राजी भएका हुन भने उनको सन्दर्भमा यो भन्दा नैतिकहीन कार्य अरु हुन सक्तैन । सर्वोच्च अदालतले चुनाब हारेकालाई संसद बनाउन नहुने फैसला पहिले नै गरिसकेको छ । झन् अपवाद होइन लस्करै चुनाब हारेका नातागोतासम्म नेताहरुले पार्नु घोर अनैतिक कार्य हो । जसको नेतृत्व सापेक्षमा असल भनिएका कमरेड नारायणकाजीबाट हुनु जस्तो लज्जास्पद अरु के होला ? यदि हैन भने किन जनताले पाँच वर्ष बन्देज गरेको संसदको ढोका छलेर झ्यालबाट राष्ट्रिय सभामा पुग्ने जमर्को गर्नुपर्यो ?
कमरेड नारायणकाजी तपाई लोकतान्त्रिक मूल्य र मान्यतामा सम्झौता नगर्ने अडान भएको नेता, विधी–पद्धती र सिद्दान्तमा अविचल रहने मान्छे कुन प्रयोजन र उपादेयता सार्थक बनाउन राष्ट्रिय सभा ताक्दै हुनुहुन्छ ? जनताको फैसला अनुसार पाँच वर्षका लागि तपाई अयोग्य हो । पाँच वर्ष कुरेर योग्यता थप्ने काम गर्नुपर्ने जनमतको उपेक्षा गर्दै राष्ट्रिय सभाको मान पदवीको लालच कत्तिपनि न्योचित छैन । चुनावी पराजय नै व्यक्तिको निष्ठा आदर्श र इमानको पराजय होइन । कानुनमा नलेखिएका सबैकुरा नैतिक नै हुन्छन भन्ने पनि छैन ।
हो, कानुनमा एकपटक पराजित मान्छे अर्को आवधिक चुनाव नभएसम्म कतै उठन नपाउने बाध्यकारी स्थिति छैन । यद्यपी, तपाई बाबुरामसँग गोरखामा झन्डै सात हजार मतान्तरले पराजित हुनु भएर संघीय संसद्को ढोका जनताले बन्द गरिदिएको व्यक्ति हैन र ? गोर्खा तपाई आफ्नै रहर र हर्षले बाबुरामलाई बाम गठबन्धनबाहिर पुर्याएर भिड्न पुग्नु भएको सत्य नबिर्सनुस । संगति र पद्दतिको कुरा गर्ने, नैतिकता, इमान र आदर्श पच्छ्याउनेले , राष्ट्रिय सभामा अहिल्यै लोभ गर्न सुहाउछ ? मिल्छ ? नैतिकता कानुन र चलनचल्तीको अभ्यास भन्दा ठुलो र फरक हुन्छ सबै राजनीतिक प्राणीसँग यो चिज नहुने भएकोले नै यसको महत्व, गरिमा उच्च भएको हो जुन तपाईबाट पनि देखिएन भने हाम्रो राजनीतिमा चाँदीको घेरा कहाँ छ भनेर विश्वास गर्नु ।
गणतन्त्र, संघीयता, राजनीति फोहोरी र अतिनै दुर्गन्धित भएको बेला तपाईको यात्रा पनि त्यतैतिर जस्तो लाग्नु सुखद कुरा होइन । अब आशको बाट गर्ने कि राजनीति सधै यस्तो हुँदैन यसलाई सुधार गर्ने नैतिक मान्छेहरु पनि जीवित छन भन्ने आम धारणा कसरी बदल्नु ? पदमा पुग्नु मात्रै राजनीति पक्कै होइन । फेरि तपाई प्रधानमन्त्री बन्न जानलाग्नु भएको पक्कै नहोला। यदि प्रधानमन्त्री नै हुन लाग्नु भएको भए तपाई प्रधानमन्त्रीको लागि योग्य मध्यको योग्य मान्छे हो मेरो ब्रम्हले त्यो स्वीकार गर्छ । तर मन्त्री मात्रै हुने रहर हो भने आफ्नो मर्यादाको घटुवा भन्दा अरु केही हुँदैन । अर्को चुनाव अघि र अहिले नै विद्यमान कानुनले तपाईलाई प्रधानमन्त्री बन्ने बाटो छेकेको छ । तपाई प्रतिनिधि सभाको संसद बन्न लाग्नु भएको होइन । राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्ने कानुन छैन हाम्रो देशमा ।
तपाईलाई त्यो पनि थाहा छ । माधव नेपाल दुई ठाउँमा चुनाव हारेर पनि मनोनित बनेर राष्ट्रिय सभामा पुगेर प्रधानमन्त्री बन्न त सक्नु भयो तर जनताले कति खिज्याए । कति व्यंग गरे । राजनीतिमा नैतिकता स्खलित भयो भनेर कति हाँस्यको पात्र बन्नु पर्यो । त्यही नियति किन प्रिय लाग्दैछ तपाईलाई ? म अर्को कुरा पनि स्मरण गराउन चाहन्छु । जनताबाट अस्वीकृत बनेपछि संसद पदको लोभ गर्नाले लोकप्रिय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको के हाल भयो ? कांग्रेस पार्टीको नैतिकता त्यहाँबाट स्खलन भएर आजसम्म कुन हविगतमा छ । निष्ठा, त्याग र समर्पण अनि पारदर्शी कृष्णप्रसादलाई आज पनि बिद्या भण्डारीसँग प्रतिस्पर्धा गर्दा गुमेको साख फिर्ता हुने कुनै अवसर र अवस्था बाँकी रहेन । भट्टराईजीको त्यो निर्णय लोभ र राजनीतिक भूलको रुपमा सँधै सबैले चित्रित गर्छन । तपाईको व्यक्तिगत अभाव आवश्यकता पूर्ति गर्ने माध्यम राष्ट्रिय सभाको सदस्य किमार्थ बनाउनु ठिक होइन । राजनीतिको आचरण होइन । भलै तपाईलाई आर्थिक श्रोत नभएको कारण अप्ठ्यारो होला अभाव र असजिलो छ तर त्यो पार्टी मार्फत हिजो झैँ पूर्ति गर्ने परिपाटी मिलाउनु पर्छ ।
व्यक्तिगत सम्पति नभएका र कुनै पनि ब्यवसायसँग नजोडिएका नेता कार्यकर्तालाई जिउन त महाकष्ट छ । भने चुनाव लडन झन् कति गाह्रो छ । त्यस्ता नेता र कार्यकर्तालाई पार्टीले कसरी ब्यबस्थापन गर्ने हो त्यसको बारेमा मापदण्ड बनाएर बहस, छलफलगरी निर्क्योल निकाल्नुको सट्टा आफ्नो मात्र ब्यबस्थापन अनैतिक हुँदैन र कमरेड ? मांस, मदिरा, चिया कफी, कोल्ड ड्रिंक्स, गुठ्का, सुपारी, खैनी, चुरोट लगायत यावत लागु पदार्थमा रुची नभएको तपाई उन्नत राजनीतिक नेता हो । तर विचलन कतै र कुनै एंगलबाट पनि सुहाउँदैन ।
समृद्धी, बैभव व्यक्तिको र केही मान्छेको होइन प्रणाली मार्फत राज्यको हुनुपर्छ । प्रारम्भमा संघर्षको क्रममा पत्रकारिता । शिक्षण र स्वास्थ्य सहायक भएर काम गर्नुभयो त्यतिबेला तपाईको योग्यता भएका मान्छे डाक्टरी पढ्ने र नामसहित दाम कमाएर एसको जीवन बिताउन पुगे । तर त्यो अवसर छोडेर कठिन राजनीतिको समरमा हिंड्नु भयो । आज आएर त्यो निष्ठा र लगानी भुलेर आदर्शच्युत बन्न मिल्दैन र हुँदैन कमरेड । राजनीतिक सन्यासीको उपमा पाएको मान्छे स्वार्थ र नीजि चाहको पूर्तिको लागि जतासुकै कुद्न भएन नि ? राजनीतिक रुपमा सन्यासी भनेको घरबार छोडेर समाज छोडेर हिड्नु पक्कै होइन, बरु निजी स्वार्थभन्दा माथि उठेर आफ्नो उदेश्यप्रति एक निष्ठ भइ समर्पित हुनु र साधना गर्नु हो । साधनबाट हलचल गर्नु होइन ।
पूर्वीय दर्शन, ध्यान ,योग राम्रा भनेर ध्यान र योग गर्ने साधक मार्क्सले समेत बुझ्न पाएको भए पूर्वीय दर्शनबाट धेरैकुरा लिन सक्थे भन्ने गरेको तपाईको मुखबाट सार्वजनिक भएका गहन कुरा र आत्मबोध र आत्मगौरव अनि पूर्वीय दर्शनप्रतिको लगाव हो । यसर्थ पनि नैतिक मूल्य र मान्यताबाट बिमुख हुन् अप्ठ्यारो मान्नुपर्छ । नेकपा माओवादीलाई जंगलबाट राजनीतिको मुलधारमा ल्याउनदेखि नेकपा पार्टीको एकीकरणको शुत्रधार तपाई रहेको कुरा राजनीतिमा चासो राख्ने सबैले स्मरण गर्ने र सम्मान गर्ने पक्ष हो । तपाई पदमा नरहे पनि चुनावमा पराजित भए पनि जनताले दिने पार्टीहरुले दिने सम्मानमा कही कतै कमि छैन । तपाईको उपचारको लागि राज्यकोषबाट खर्च गरिएको तीस लाखको पनि कसैले खोजी गर्ने, प्रश्न गर्ने अनैतिकता देखाएका छैनन् । विपन्न नेताको उपचार राज्यकोषबाट नै होस् त्यो आपत्तिको विषय हुँदैन कहिल्यै ।
‘कम्युनिष्टको दरवार, जोगीको घरबार’ भनेर नयाँ उखान बनेको बेला तपाईको आजसम्मको चरित्रमा खोट लगाउने ठाउँ खासै छैन । मानवीय स्वभावजन्य कमजोरी र नियतबस गरिने कमजोरी फरक कुरा हुन िनियतिले चुनाव जिताउन ठगे पनि नियत खराब राखेर पदमा पुग्ने ध्याउन्न तपाईको चरित्रसँग कहिँ मेल खादैन । नेताको त्याग संघर्ष र जोखिम सँधै बन्दनीय छ । तर हेक्का राख्नुस काजीसाब क्यान्सररोगबाट ग्रस्त भएको बेला संघर्षशील कांग्रेस नेत्री शैलजा आचार्यलाई उपचार पनि होस् पदीय लाभको कारण आर्थिक सहजता पनि मिलोस भनेर भारतका लागि राजदूतमा गिरिजाले सिफारिस गरे । तर संसदीय सुनुवाई समितिमा जति रोइकराई गरे पनि त्यो मन्जूर गरिएन । अन्ततः मन्त्री हापेर हिंडेकी शैलजा राजदूत बन्न सकिनन् । कारण लाभको पदमा पुर्याएर राज्यबाट घुमाउरो राहत दिने गिरिजाप्रसादको दाउ असफल बन्यो ।
आफ्नो उपचार गर्न आफ्नै सम्पति बेचेर पनि उपचार गर्ने हैसियत उनको थियो तर लोभ र निजी लाभको लागि पदमा पुग्ने अभिष्ठको कारण शैलजाको ठूलो आलोचना र बिरोध भयो त्यस्तै आफ्नो निजी स्वार्थ र आवश्यक्ताको कारण हो भने राष्ट्रिय सभाको सदस्य बन्ने अभिलाषा छोड्नुस कमरेड । यो आत्मघाती हुनेछ । निष्ठा इमान र नैतिकता अझै हाम्रो राजनीतिमा छ भन्ने देखाउन पनि अहिलेलाई त्यो लोभ त्याग्नुस । बरु अर्कोपटक चुनावमार्फत नै प्रधानमन्त्री बन्नुस । अर्को कुनै इमान्दार नेता र कार्यकर्तालाई चान्स दिनुस । त्यहाँबाट आशिर्वाद प्राप्त हुनेछ ।
आज तपाईको जुन नैतिक हाइट छ त्यो धुलिसाथ बनाउन नलाग्नुस् । झन् बामपुड्के बन्नुपर्ने छ । जनताको फैसला गिज्याएको र जनतालाई केवल रैती सम्झेको आरोप प्रमाणित हुनेछ । राष्ट्रिय सभामा पुगेर मजा मान्नु भयो भने । राष्ट्रले तपाई राष्ट्रिय सभामा पुगेर तत्काल उलेख्य उपलब्धि गर्ने केही छैन । यसर्थ आफ्नो उमेद्वारी फिर्ता गरेर पार्टी संगठनमा योगदान गर्नुस । कार्यकर्ता सबै मुर्ख छैनन् मुल्यांकन गर्छन ।
लोकतान्त्रिक मुल्य र मान्यतालाई तिलान्जली दिएर यसको मर्ममाथि प्रहार गरेर चुनाबमा पराजितलाई उमेद्वार बनाउने गलत प्रथाको निरन्तरता पार्टीहरुले दिने निक्रिस्ट र घीनलाग्दो हर्कत र काइता हो । कमजोरी सच्याएर जानुपर्नेमा कमजोरी अरु मजबूत बनाएर लैजानु लोकतन्त्र स्खलित बनाउनु हो । भुल सच्याउने कसरत नेकपाले गरेन भने व्यक्ति नारायणकाजीले गर्न सक्छन । अनेक कथनी गरेर पार्टीको निर्णय भनी आफ्नो बचाउ पत्याउन सकिन्न । पार्टीको प्रबक्ता, सचिवालय सदस्य , प्रचार बिभाग प्रमुखमा विराजमान श्रेष्ठ पद भूमिका र हैसियत निर्माण गर्न अवश्य राष्ट्रिय सभाको सदस्य बन्न लागेका होइनन । अन्तर्यमा पाक्ने खिचडीको स्वाद जस्तो भएपनि जनताको जिब्रोले निको मान्छ ठान्नू महाभूल हो । राष्ट्र सभा सदस्य बन्ने रहरले प्रधानमन्त्री बन्ने अवसरमा पूर्ण बिराम त लागेन कतै ?
प्रतिक्रिया दिनुहोस्