काठमाडौं, पुस १८ । नेपाली कांग्रेसले महालक्ष्मी सुगर मिलका सन्चालक वीरेन्द्र कनोडियालाई उखु किसानको रकम भुक्तानी तत्काल गर्न निर्देशन दिएको छ ।
प्रदेश नम्बर–५ का प्रदेशसभा सदस्यसमेत रहेका उनलाई यही पुस २५ गतेभित्र किसानको बाँकी रकम भुक्तानी गर्न निर्देशन दिइएको हो ।
कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य बनेका कनोडियालाई सो मितिभित्र किसानको रकम भुक्तानी गरेर त्यसको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई गराउन भनिएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शमाले शुक्रबार दिउँसो ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् ।
‘श्री वीरेन्द्र कनोडिया, सांसद, प्रदेश ५ । उखु किसानलाई पुस २५ भित्र रकम भुक्तानी गरेर सोको जानकारी केन्द्रीय कार्यालयलाई गराउनु हुन यहाँलाई सार्वजनिक सूचना जारी गरिएको छ’–प्रवक्ता शर्माको ट्वीटमा लेखिएको छ ।
श्री विरेन्द्र कनौडिया,सांसद,प्रदेश ५…
उखु किसानलाई पुस २५ भित्र रकम भुक्तानी गरेर सो को जानकारी केन्द्रीय कार्यालयलाई गराउनु हुन, यहाँलाई सार्वजनिक सूचना जारी गरिएको छ lअन्य सबै उधोगि मार्फत किसानलाई भुक्तानी
तत्काल दिलाउन @PM_Nepal समक्ष अपिल छ l— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 3, 2020
कनोडिया सर्लाहीको गोडैटा नगरपालिका–६, बगदहस्थित महालक्ष्मी सुगर मिलका मालिक हुन् । उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’बाट प्रदेशसभा सदस्य बनेका हुन् ।
यसअघि, बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले किसानहरुलाई तत्काल रकम भुक्तानी गर्न चिनी उद्योगीहरुलाई अपिल गरेको थियो । त्यसको प्रभावकारी पहल गर्न सरकारसित मागसमेत गरेको थियो ।
उखुको रकम भुक्तानी नपाएका किसानहरु पछिल्लो समय राजधानी आएर आन्दोलनरत् छन् ।









प्रतिक्रिया दिनुहोस्