दसैं माने के हुन्छ ? नमाने के हुन्छ ? « Image Khabar


दसैं माने के हुन्छ ? नमाने के हुन्छ ?



पेशल आचार्य

दसैँ विश्वभर छरिएर रहेका सम्पूर्ण हिन्हूहरूको महान् चाड हो । यस चाडले विभिन्न कामका सिलसिलामा, अध्ययन, बेपार व्यावसाय तथ फरक परिवेश र पृष्ठभूमिमा रहेका घरपरिवार, दाजुभाइ, छोराछोरी, नातिनातिनी र अन्य नातागोतालाई एक ठाउँमा जोडेर पारिवारिक मिलनका साथमा सुखदुःख साटासाट गर्ने हर्ष सहितको मौका दिन्छ ।

विगतमा दसैँ सम्पूर्ण नेपालीहरूको महान् चाड भनिन्थ्यो । अहिले सबै नेपाली हिन्दू नभएकाले त्यसो भनिँदैन । विभिन्न धर्मावलम्बीहरूका आआफ्ना चाडहरू छन् । बौद्ध धर्मावलम्बीको बुद्धजयन्ती र उँधौलीउँभौली, क्रिश्चियनहरूको क्रिसमस र इष्टर पर्व, मुश्लिमहरूको इद, बकरिद र मोहरम पर्वहरू रहेका छन् ।

हिन्दूहरूका बीच पनि अनेक सम्प्रदाय रहेका छन् । कृष्ण प्रणामीहरूले कृष्ण जन्माष्टमी, वैष्णवहरूले ठूली एकादशी, शैवहरूले अक्षय तृतीया, शिवरात्री र हरितालिकाजस्ता पर्वहरू मनाउने गर्दछन् । दसैँमा खासगरी देवीको पूजनोत्सव हुन्छ । यसमा देवी र दानवका बीच भएको युद्धलाई वर्णन गरिन्छ । अतः यो पर्वलाई विजया दशमीसमेत भन्ने गरिन्छ ।

त्रेता युगका मर्यादा पुरुषोत्तम रामचन्द्रले सीता मातालाई राक्षस राज रावणका बन्धनबाट मुक्त गर्नका लागि आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म ९ दिन आदिशक्ति देवी माताको पूजार्चना गरी दसौँ दिनका दिन पूजा विसर्जन पश्चात् दुर्गाको प्रसाद ग्रहण गरेर भाइ लक्ष्मण, सेनापति पवन पुत्र हनुमान र बाँदर सैन्यका साथ लङ्का प्रवेश गरी रावणसँगको दुन्दुभीमा विजय प्राप्त गरेकाले यो पर्वलाई आसुरी शक्तिमाथि दैवी शक्तिको, पापाचार माथि सदाचारको, अन्याय माथि न्यायको, कुविचारमाथि सुविचारको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा संसारभरि छरिएर रहेका सम्पूर्ण हिन्दूहरूले असीम आनन्द र असमेल हर्ष बढाइँका साथ मनाउने गर्छन् ।

भारतको पश्चिम बङ्गालमा दसैँ पर्वलाई कालीपूजा र मुम्बईमा दशहरा पर्वका नामले भव्य र विशाल पण्डाल बनाएर खाली जग्गा या चौरास्तामा पूजा गर्ने गरिन्छ । नेपालमा विभिन्न जातजाति र धर्मावलम्बीहरूले धार्मिक र जातीय एकताका रूपमा दसैँलाई मनाउने गर्छन् ।

अध्ययनअनुसार नेपालमा बसोबास गर्ने मगर, गुरुङ र नेवारमध्ये आधाजसोले हिन्दु र आधाजसोले बौद्ध धर्म मान्ने गर्छन् । यसरी एउटै जातले फरक धर्म मान्ने गरे पनि त्यहाँ जातीय सद्भाव कायम राख्नका लागि ती जातिका मानिसहरूले समेत दशैँ मान्ने गरेको पाइन्छ । हिजो कृषि युगमा दसैँको ठूलो महत्व थियो तर आजको सहरीकरण भएको समाज र रेमिट्यान्सले धान्ने युगमा दसैँको महत्व शनैःशनैः पातलिँदै गएकोछ । भनिन्छ –अहिले राम्रो लाउन र मिठो खानका लागि जो कोहीले दसैँ पर्खिनै पर्दैन । कमाइधमाइ छ र आफ्ना प्रियजनको आगमन भयो भने ऊ जुनसुकै बेला पनि खुसी साट्न सक्छ ।

उहिलेको दसैँ तुल्याएर आउँथ्यो । समाज कृषिमा आश्रित थियो । अन्न, फलफूल, मर्मसला, दूधदही र माछामासु सबै कृषि कार्यबाटै जम्मा हुन्थ्यो । अहिले त्यो सम्भव छैन । आजभन्दा ३०/३५ वर्षअघि नेपाल कृषिप्रधान देश थियो । यहाँका ८१ प्रतिशत भन्दा बढी जनताहरू कृषि पेशामा आश्रित थिए । त्यो बेलाको दसैँको आगमन र अहिलेको दसैँको तयारी आकास जमिनको फरक छ ।

रहँदाबस्दा यो मुलुक अहिले रेमिट्यान्स प्रधान मुलुकमा परिणत भयो । अहिले प्रत्येक घरबाट एकजना अझ कतिपय घरबाट त उमेर पुगेका र सीप भएका सबैजना वैदेशिक रोजगारका लागि भारत, कतार, मलेसिया, कोरिया, साउदी अरब, जापान, युरोप र युएस्ए ताँती लागेर गएका छन् । यस्तो अवस्थामा हामीले आफ्ना नातेदार र दाजुभाइलाई वैश्कि मानिस भनाएपछि चाडपर्व, धर्म र संस्कृतिलाई पनि वैश्विक भनाउनै पर्छ । खासमा हामीले मान्ने चाडपर्व, मेलाजात्रा र संस्कृतिले हाम्रो परिचय दिने र हामीलाई कामका लागि ऊर्जा प्रदान गर्छन् ।

हाम्रा पुर्खाले मानिआएका यस्ता पर्वहरू आफूलेसमेत मौलिक परिचय र पहिचानका साथ मनाएर भोलि आउने सन्ततीहरूका लागि बचाएर राख्नुपर्छ । खासमा हामी आफ्नो दायित्व निर्वाहका लागि र सन्ततीहरूमा संस्कृति हस्तान्तरणका लागि अनेक तरहले दसैँ तिहारजस्ता पर्वहरू मनाइरहेका छौं ।

जति विरोध गरे पनि या जति नै अन्धभक्त भएर समर्थन गरे पनि दसैँको महत्व हिन्दूहरूले मनाउने अन्य पर्वहरूका तुलनामा व्यापक छ । पञ्चायत कालसम्म दसैँप्रति राज्य र नागरिकहरूले गर्ने बेबहारमा कुनै भिन्नता थिएन । जब बहुदल आयो अनि मुलुक विस्तारैविस्तारै धर्म निरपेक्षतामा प्रवेश गरेपछि केही जनजातिहरूले यसलाई फरक शैली र ढंगमा मनाउने परम्परा अख्तियार गरे । हिजोको एकात्मक राज्य व्यवस्थाका मातहतमा रहेर दसैँ मनाउँदा केही जातजातिहरूको मन बेखुसी हुनु अस्वाभाविक थिएन परन्तु आज तिनीहरूमध्ये कसैले सेता अक्षता लगाएर, कसैले बली नदिएर र कसैले आफ्ना प्रकृति देवतालाई मानमनितो मात्र गरेर पनि दसैँको उल्लासमा सामेल भएका पाइन्छन् ।

हिजो दसैँ अग्र्यानिक र एक्चुअल थियो । आज दसैँ भ¥चुअल र डिजिटल बनेको छ । पारिवारिक सदस्य भेला जम्मा हुन नपाएपछि आज कम्प्युटर स्क्रिन या मोबाइलका माध्यमले टीकाजमरा लगाउन बाध्य छन् । यो अहिलेको बाध्यता हो । हिजो बारीका डिलमा लिङ्गे, रोटे र जाँते पिङ् खेलेर, नाना, चाचा र चिचि खाएर हुर्केको पुस्ता अहिले क्रमशः बूढ्यौलीतर्फ लम्किरहेको छ ।

यस्तो अवस्थामा त्यो पुस्ताले आफ्नो संस्कृति जोगाउनु पर्ने दायित्व काँधमा बोकेको छ । साथै आउँदै गरेको नयाँ पुस्तालाई उसको धर्म, संस्कृति र परम्पराको सिको गराउनु परेकोछ । अहिले नेपाली संस्कृति क्रमशः विभाजन र विघटनको दिशातर्फ दू्रतत्तर गतिले लम्किरहेको छ । यसलाई बचाउने दायित्व हामी सबै धर्मका अनुयायीहरूको रहेको छ । आफ्नो परिचयलाई बचाउँदै अन्य धर्म र संस्कृतिको समेत रक्षा गर्नु पर्ने कर्तव्य हाम्रा काँधमा आइपरेको छ । यस्तो अवस्थामा हामी बहुधर्म, बहुसंस्कृति र बहुपरम्पराका अनुयायी हुनु नै वर्तमान समयको माग हो ।

दसैँ माने के हुन्छ ? नमाने के हुँदैन ? भन्ने वाद, विवाद, प्रतिवाद र संवादमा नफसेर हामीले यसको सनातनदेखिको महत्वलाई अङ्गीकार गर्दै संस्कृति हस्तान्तरणका लागि आफ्नो गच्छेले भ्याएसम्म यसलाई सादगी, हिँसारहित र फजुल खर्च नगरिकन मनाउनु पर्दछ । यसैमा सबैको भलाइ निहित छ । दसैँका सातौँ दिन कात्यायनीको पूजनोत्सवको उपलक्ष्यमा यतिखेर भने सबै सबैमा हार्दिक शुभकामना ।।