२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


चिसो बढ्दा जनजीवन कष्टकर – काठमाडौंमा बिहानदेखि पानी पर्न थाल्यो, हिमाली क्षेत्रमा भारी हिमपात हुँदा गाडी र हवाई उडान बन्द


0
Shares

काठमाडौं, पुस १८ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण उपत्यका लगायत देशभर आजपनि चिसो बढेको छ ।

काठमाडौंमा बिहानदेखि सिमसिम पानी परेको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ ।

आज सबैभन्दा चिसो डडेल्धुरा रहेको छ । डडेल्धुराको आजको न्यूनतम् तापक्रम १.५ डिग्री सेल्सियस छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज  देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा  भारी  हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा मध्यम वर्षाको संभावना रहेको छ ।

आजराति देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा वर्षा हुने जनाईएको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढ्ने हुँदा सर्तकता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यता मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ ।

वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ ।

त्यस्तै कर्णाली प्रदेशमा पनि वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेंसीमा वर्षा भएको छ ।

बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र रानीमत्ता लेकमा हिमपात भइरहेको छ । हिमाली विद्यालय क्षेत्र हिमपातले ढाकिए पनि बिदा भएकाले शैक्षिक क्षेत्र प्रभावित भएको छैन ।

अहिले सबै विद्यालयमा जाडो बिदा छ । हिमाली जिल्लाको उच्च भागमा करिब पाँच फिटसम्म हिमपात भएको बताइएको छ ।

कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको पाइएको छ ।

जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी बन्द भएका छन् । हवाई उडान बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ ।

हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित हुने गर्दछन् ।

यस्तो अवस्थामा तातोपानी खान, न्यानोमा बस्न, औषधि लिनेले नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान चिकित्सकहरुले सुझाव दिएका छन् ।