Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


अतिक्रमित भूमि फिर्ता ल्याउन युवा एकजुट हुनुपर्छ : प्रवक्ता श्रेष्ठ


0
Shares

काठमाडौं, पुस १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताएका छन् ।

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको सप्ताहव्यापी रचनात्मक कार्यक्रमको समापन समारोहमा उनले राष्ट्रलाई सङ्कट पर्दा युवा विद्यार्थीले खेलेको भूमिकालाई सधैँ स्मरण गर्नुपर्ने बताए ।

युवा, विद्यार्थीकै कारण ठूलाठूला आन्दोलनले सफलता पाएको भन्दै भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई फिर्ता ल्याउन फेरि युवा विद्यार्थी एकजुट हुनुपर्ने बेला आएको बताए ।

“लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत विभिन्न क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सबै नेपाली जुट्नुपर्ने बेला आएको छ”, उनले भने, “स्वाभिमानी पुर्खाको विरासतलाई जोगाइराख्न अहिलेको पुस्ता गम्भीर बन्नु जरुरी छ ।”

उनले अहिले शक्ति सम्पन्न राष्ट्रका रुपमा स्थापित केही राष्ट्र तत्कालीन समयमा अन्य राष्ट्रको उपनिवेशमा रहँदासमेत नेपाल स्वतन्त्र रहेको स्मरण गराए ।

राष्ट्रियता कमजोर हुने सवालमा नेपालीले कसैसँग पनि सम्झौता नगर्ने उनले जिकिर गरे । श्रेष्ठले वर्तमान सरकारले औपचारिकरुपमा भारतलाई पत्र लेखी अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा पहलकदमी अघि बढाएकाले समाधान निस्कनेमा आफू आशावादी रहेको बताए । रासस