२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाउँदा संसद बन्यो बन्धक


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, पुस १६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कारण संघीय संसदको प्रतिनिधिसभा अनिर्णयको बन्दी बनेको छ ।

नेकपाले सभामुखको उम्मेदवार तय गर्न नसेकेपछि प्रतिनिधिसभाको बैठक दुईपटक सूचना टाँस गरेर स्थगित भइसकेको छ ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभाको आगामी बैठक यही पुस २७ गते दिउँसो बस्ने गरी सूचना निकालेको छ ।

सभामुख कसलाई बनाउने भन्नेमा सत्तारुढ दल नेकपाभित्र तीव्र विवाद छ । सभामुखको उम्मेदवार चयनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटक–पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन ।

सभामुख चयनमा सहमति हुन नसेकपछि प्रतिनिधिसभाको बैठक पुस २७ गते बस्ने गरी स्थगित गरिएको छ ।

मुख्यगरी सभामुख चयनमा अध्यक्षद्वयबीच नै विवाद छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने अडानमा छन् ।

पूर्वएमालेका केही नेताकोसमेत साथ पाएका अर्का अध्यक्ष दाहाल पूर्वमाओवादी खेमाका अग्नि सापकोटालाई सभामुख बनाउने पक्षमा छन् ।

सभामुख चयन विवाद दुई अध्यक्षमा मात्र सीमित छैन । राष्ट्रपति विद्यादेवी भण्डारी उपसभामुख शिवमाया तुम्बाहाङफेलाई नै सभामुख बनाउनुपर्ने पक्षमा छिन् ।

सभामुखका विषयमा अध्यक्षद्वयबीच व्यक्तिमा केन्द्रित रहेर मंगलबार पनि छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नो अडानबाट पछि नहटेपछि सहमति जुट्न सकेन ।

सुवास नेम्वाङप्रति नकारात्मक नभएपनि अध्यक्ष दाहाललाई पूर्वमाओवादी केन्द्रबाट ठूलो दबाब छ ।

पूर्वमाओवादी खेमाका प्रभावशाली नेताहरु अध्यक्ष दाहाललाई राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्षजस्ता महत्वपूर्ण पद पूर्वएमाले खेमाबाट भएकाले सभामुख पूर्वमाओवादी खेमाबाट हुनुपर्ने भन्दै निरन्तर दबाब दिइरहेका छन् ।

उनीहरुले यदि सभामुखको अडानबाट पछि हटे अध्यक्ष दाहालले पार्टीमा पूर्वमाओवादी खेमालाई संरक्षण गर्न नसकेको महसुस हुने र आगामी दिनमा दाहालले आफ्नै पूर्वपार्टीबाट सहयोग नपाउने चेतावनी दिँदै आएका छन् ।

यता, अध्यक्ष ओलीसहित पार्टीको पूर्वएमालेका अधिकांश नेताहरुले पार्टी एकीकरणको सम्पूर्ण काम सकिसक्दा पनि पूर्वगुट भनेर गुट विशेषबाट सभामुख चयन गर्न नहुने अडानमा छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली संविधान, कानुनका जानकार हुनुका साथै सरकार र अन्य दलसँग समन्वय गर्नसक्ने भन्दै नेम्वाङलाई नै सभामुख बनाउनुपर्ने अडानमा देखिएका छन् ।

सभामुख चयनको विवादले उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा पनि रोकिएको छ ।

सभामुख हुने सुनिश्चितता नभएसम्म राजीनामा नदिने अडान राख्दै आएकी उपसभामुख तुम्बाहाङफे पछिल्लो समय राजीनामा दिन तयार भएकी थिइन् ।

सभामुखको उम्मेदवार चयनमा भइरहेको विवादले प्रतिनिधिसभा बन्धक बनेको छ ।

हिउँदे अधिवेशनको पहिलो दिन पुस ४ गते औपचारिक सुरु भएयता प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।

प्रतिनिधिसभा बैठक नियमित बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका दैनिक समस्या, राष्ट्रिय सवाल र सरकारलाई दबाब दिनुपर्ने आम विषयहरु ओझेलमा पर्दै गएका छन् ।

पटक–पटक सूचना टाँसेर संसद बैठक स्थगित गरी संसद नै बन्धक बनाउनु गलत भएको टिप्पणी हुन थालेको छ ।