२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


बीपीको आदर्श समाप्त पारेपछिको मेलमिलाप दिवस ?


0
Shares

-हरिविनोद अधिकारी

प्यारी बहिनी जगदम्बा

तिमीले अस्तिमात्रै सोद्धैथियौ-दाजु बीपीको राष्ट्रिय मेलमिलाप दिवस नेपालमा कसरी मनाइँदैछ ? नेपालमा भन्दा बरु बाहिरचाहिँ बीपीको वास्ता गरिन्छ, तर नेपालमा बीपीको फोटोमात्र राखिन्छ, निर्वाचनताका उहाँको फोटो राखेर चुनाबी घोषणापत्र पनि तयार गरिन्छ तर उहाँको आदर्शलाई उहाँकै दल नेपाली काँग्रेसले  पटक्कै वास्ता गरेको पाइँदैन । सम्झ बीपीको आदर्श समाप्त  पारिएको छ र बीपीको फोटोको बेइज्जत गरिएको छ । तिमीहरु बीपीको सिद्धान्त र आदर्शबाट आफ्नो किशोरावस्थामा प्रजातन्त्रवादी भयौ र भावी पुस्तालाई प्रजातन्त्रवादी हुनका लागि प्रेरित गर्‍यौ । तर अहिले को हो त प्रेरणा दिने व्यक्ति ? कसको जीवनबाट वा सिद्धान्तबाट अविचल प्रजातन्त्रवादी हुने प्रोत्साहन पाउँछ अहिलेका किशोर वा युवाहरुले ? या दिग्भ्रमित राजनीतिक जमातले ?

बीपी २०३३ साल पुस १६ गते नेपालमा विदेशी चलखेल धेरै भयो भनेर मुलुकको राष्ट्रियता बचाउन भनेर नेपाल आउनु भएको थियो । आफूलाई फाँसी दिने तयारी गरेर सात सातओटा मुद्दा लगाउने राजासँग राष्ट्रियताका प्रश्नमा मेलमिलाप गरौँ  र देश बचाऔँ भन्ने नारा उहाँको थियो । राजासँगको विवाद के थियो भने विनाकारण निर्वाचित सँसद र सरकार असंवैधानिक तरिकाले विघटन गरेर निर्दलीय पन्चायती व्यवस्था लागू गरिएको थियो । भारतको स्वनिर्वासनबाट नेपाल  फर्कँदा नेपालमा राजासँग निरन्तर लडिरहेको शक्ति भनेको नेपाली काँग्रेसमात्र थियो । सम्पूर्ण जेलहरुमा नेपाली काँग्रेसका प्रजातन्त्रप्रति समर्पित कार्यकर्ता तथा नेताहरु नै थिए र कतैकतै आफूलाई वामपन्थी भन्नेहरु पनि थिए । जुन दिनदेखि राजाले सँसदीय व्यवस्थासहित निर्वाचित सरकारलाई अपदस्त गरे, त्यसदिनदेखि नै नेपाली काँग्रेस त्यसको पुनस्र्थापनामा सम्झौताविहीन संघर्षमा थियो । त्यसको चरमोत्कर्ष भनेको बीपीको मेलमिलापको नीति थियो जसमा राष्ट्रियताका लागि सबैसँग सहयोग अनि प्रजातन्त्रका पक्षमा अनवरत संघर्ष गर्ने र मुलुकमा सँसदीय प्रजातन्त्रको पुनस्र्थापना गर्ने ।

त्यो कुरा बीपीको निधनपछि भने पनि पूरा भयो र आज मुलुक राजतन्त्रविहीन गणतन्त्रको राजनीतिक अवस्थामा छ, सँसदीय प्रणालीअन्तर्गतको लोकतान्त्रिक व्यवस्थामा छ र भनिएको छ, नेपाल समाजवाद उन्मुख देश हो । बीपीले आफ्नो आस्था समाजवादसहितको प्रजातन्त्रमा रहेको कुरा २०१२ सालमा नै नेपाली काँग्रेसको विधानमा समाजवादलार्ई आस्थाको विषय बनाइसक्नु भएको थियो ।

अहिले नेपाली काँग्रेसले चाहेको जस्तो व्यवस्था नेपालमा संवैधानिक रुपमा प्रत्याभूत गरिएको छ तर त्यसको चालक बस्ने ठाउँमा आफू छैन, आफू छैनमात्र होइन कि कुनै पनि निर्णायक ठाउँमा छैन । केही सय स्थानीय तहमा नेतृत्वमा छ तर ७ ओटै प्रादेशिक सरकारमा पनि छैन, संघीय सरकारमा पनि छैन र कतै कुनै प्रदेश सभा वा संघीय सँसदमा सभामुख वा उपसभामुखमा पनि छैन । यसलाई नेपाली काँग्रेसको सुदृढ सङ्गठन र राज्यमा जनताको विश्वासको रुपमा कति लिने हो, थाहा छैन ।

बीपीले आफूलाई अपदस्त गर्ने राजा अनि आफ्नो तेजोबध गर्ने पन्चहरुसँग पनि राष्ट्रियताका प्रश्नमा एकताबद्ध हुने रणनीति लिनु भएको थियो र निरन्तर संघर्ष गर्ने आफ्ना अनुयायी र कार्यकर्ताहरुलाई अथक परिश्रम गरेर मुलुकमा प्रजातन्त्रको दियो बाल्न उत्प्रेरित गरिरहनु भएको थियो त्यो कालो पन्चायती कालमा पनि । तर अहिले उहाँँको दलमा न एकता छ, न मेलमिलाप छ, न सङ्गठन छ । आफू आफूमा मारामार छ । सत्ता छैन, कतै सभामुख पनि छैन, उपसभामुख पनि छैन, मुख्यमन्त्री या मन्त्री कतै छैन तर सङ्गठनप्रति कुनै मोह पनि छैन । यदि सङ्गठनप्रति मोह हुन्थ्यो भने किन केन्द्रीय समितिको म्याद थप्नुपथ्र्यो ? बारम्बार असफल नेतृत्वलाई किन पार्टी कब्जा गरेर बस्नु पथ्र्यो ? किन अतीतमा झैँ नेपाली समाजलाई प्रजातन्त्रको अभ्यासद्वारा उदाहरणीय हुनबाट देखाउन नसकेको हो , थाहा छैन तर द्वापरयुगमा यदुवंशीको झगडा झैँ किन समूल नष्ट हुने गरी निरन्तर विवाद र गृह कलहमा लाग्नुपथ्र्यो ?

तिमीहरुले जोगाएर ल्याएको नेपाल विद्यार्थी संघको अवस्था कस्तो छ भनेर तिम्रा समकालीनहरुलाई फोन गरेर सोधे पनि हुन्छ । तरुण दलको अवस्था कस्तो छ भनेर जानकारी राख्दा पनि हुन्छ । बनाउन त धेरै संगठन नेपाली काँग्रेसले बनाएको छ तर ती सबै कि त खल्ती अफिस छन् या त कुनै पनि विधिसम्मतरुपमा निर्वाचित छैनन् या म्याद गुज्रेका औषधिजस्तै भएका छन् ।

एकातिर बीपी नेपाल आएको सम्झनामा देखाउनका लागि राष्ट्रिय मेलमिलाप दिवस मनाइन्छ तर आपसमा बेमेल भएर । सके त्यो मेलमिलाप दिवस पनि एकै ठाउँमा मिलेर मनाउने गरिँदैन । बीपीको आदर्शको प्रजातन्त्रका वारेमा कतै छलफल किन हुँदैन भने बीपीवाद प्रति पटक्कै विश्वास नहुने जमातले बीपीको पार्टीलाई छोपेको छ जसरी परम्परागत जङ्गललाई बनमाराले छोपेर निमिट्यान्न पारेको छ ।

बीपीको आदर्शको राजनीतिलाई पार्टीको आन्तरिक जीवनमा नै अभ्यास गरिँदैन । किन म्याद थप्नु जरुरी थियो र समय समाप्त भएको सङ्गठनलाई ? बरु त्यो सङ्गठनलाई आधारभूत तहदेखि निर्वाचन गर्दा अरु सक्रिय हुने थियो र सङ्गठनको नयाँ स्वरुप तयार हुने थियो अनि नयाँ नयाँ प्रतिबद्ध जमातको उत्पत्ति हुने थियो । तर त्यसो किन गरिँदैन भने दलको आन्तरिक जीवनमा समेत हस्तक्षेप गरेर कब्जा गर्दै आफूले चाहेजस्तो मानिसहरुलाई आगामी निर्वाचनमा उठाउनु छ, चाहे जितोस् या नजितोस् । त्यो ठाउँमा अर्को कुनै व्यक्तिले टाउको उठाउन नपाओस् ।

प्यारी बहिनी,

बीपी, गणेशमानजी, किसुनजीसहितले  स्थापना गरेको दल नेपाली काँग्रेसमा न बीपीको नीति रह्यो, न गणेशमानजीको अटल आस्थाको गुण रह्यो, न त किसुनको अटल आस्थासहितको सदाचारको आचार रह्यो । पार्टीको सभापतिले नै कहिल्यै नदेखेको, नचिनेको र नसुनेको नाम, त्यो पनि कुनै विशेषज्ञता नभएको व्यक्तिलाई नेपालको तर्फबाट राजदूत हुन पार्टीको तर्फबाट सिफारिस गरियो, धन्न कसरी हो ठूलो विरोध भयो र रोकियो । किन सिफारिस भयो पनि कसैलाई थाहा छैन, किन रोकियो भन्ने चाहिँ सबैलाई थाहा भयो । किन रे भने त्यो मान्छेलाई अर्कोपार्टीले अघिल्लो पटक निर्वाचनमा टिकट दिएर उठाएको रहेछ रे । यस्ता कति कति उदाहरणले मण्डित भएको छ बीपीको पार्टी अहिले ।

अनि प्रत्येक वर्ष बीपी जयन्ती पनि आउँछ, बीपी स्मृति दिवस पनि आउँछ, मेलमिलाप दिवस पनि आउँछ, गणेशमानजीको जन्मजयन्ती पनि आउँछ, स्मृति दिवस पनि आउँछ, फागुन ७ पनि आउँछ, किसुनजीको जन्मजयन्ती पनि आउँछ । कर्मकाण्डीय पाराले ती दिवसहरु मनाइन्छन् तर जसका सम्झनामा ती दिनहरुको महत्व व्याख्यान गरिन्छ, तिनको रत्तिमात्र पनि पालना हुँदैन, बहिनी  हुँदैन । 

नेपाली जनताको एउटा ठूलो संख्या छ जसले प्रजातन्त्रका ती अप्ठ्यारा दिनहरुमा पनि  बरु जेल रोजे तर प्रजातन्त्रका विरुद्धमा कुनै पनि सम्झौता गरेनन् । आज पनि ती प्रजातन्त्रवाहेक अरु कसैको कल्पना पनि गर्दैनन् तर तिनै जनताको विश्वासमा कुठाराघात गर्नमा काँग्रेस नेतृत्व आफूलाई गौरवान्वित ठान्दछ । जसको प्रमाणस्वरुप  न प्रजातन्त्रका पक्षमा उदाहरणीय अभ्यास गरेर देखाउँछ, न त समानुपातिक उम्मेदवारहरुको नामावलीमा रहेको व्यक्तिहरु जो कुनै साँसद पनि छन् । तिनको मनोनयनका चित्तबुझ्दो कारण जनतालाई दिन सक्छ । नेकपामा नेताको रुपमा प्रधानमन्त्री भएका व्यक्तिको सल्लाहकारले नेपाली काँग्रेसबाट साँसद हुने मौका पाएका छन् र उनीहरुकै हाली मुहाली छ पार्टीमा भनेर भन्दा अचम्भ नमाने हुन्छ ।

तिमीहरु विदेशमा बस्नेहरुका  लागि लाग्दो हो, नेपालमा विकासको दिगोस्वरुप होस् ताकि कसैले पनि कहिले पनि देश छोडेर जानु नपरोस् । सायद बीपी कोइरालाले नेपालको दिगो विकासको कल्पना गरेकैले राजासँग विवाद भएको थियो क्यारे । आज नेपालको अवस्था कस्तो भएको छ भने प्रजातन्त्रको दुहाइ दिनेहरुबाटै प्रजातन्त्रमाथि खतरा देखिन थालेको छ । अरुलाई बाटो देखाउने भनेर हल्ला गर्नेहरुले नै बाटो बिराएको अवस्था छ । जोसँग आशा र अपेक्षा गरेर मानिसहरुले जेल नेल खाएर संघर्ष गरे, उनीहरुमा नै आदर्शच्यूत भएको अवस्था छ ।

बहिनी, मलाई लाग्थ्यो, काँग्रेसबाट पक्कै असल प्रजातन्त्रवादीहरुमाथि न्याय गरिने छ । अब त्यो आशा मर्न थालेको छ । त्यसले निम्त्याउने निराशाले भयानक अराजक विद्रोहको जन्म हुनेछ । अराजक र हिँस्रक तर गन्तव्यहीन संघर्षले नैसंसारका धेरै देशहरु आजको भूगोलबाट गायब भएका छन् । झन प्रजातन्त्रवादीहरुबाट हुने भयानक त्रुटिहरुको यस्तो लेखाजोखा हुन्छ कि समाजमा त्यसले देखाउने गलत नजिरले अप्रजातन्त्रवादीहरुका लागि विधिको नाममा गलत संस्कार बसाउन निहुँ बन्दोरहेछ । कमजोर प्रजातान्त्रिक जगमा प्रजातन्त्र कसरी लज्जास्पदरुपमा फस्टाउँछ भन्ने कुरा अहिलेको रुस, कम्पुचिया नै उदाहरणका लागि प्रशस्त छन् ।

जे होस् , कम्तीमा पनि बीपीजस्ता महान प्रजातन्त्रवादीको देश भनेर नेपाललाई विश्वमा चिनिन्छ । भारत र चीनका शक्तिशाली प्रधानमन्त्रीहरुले समेत बीपीको अडानमा माफी माग्नु परेको इतिहास छ । राजतन्त्रका पक्षमा वकालत गर्ने झिनो स्वरलाई विष्णुको अवतारको स्वल्पज्ञानको घमण्डले वास्ता नगर्दा आज राजतन्त्र नेपालको एकादेशमा एउटा राजा थिए रे भन्ने लोककथामा परिणत गरेको अवस्था छ ।

बहिनी, मात्र म एउटा कुरा भनेर यो चिठी अन्त्य गर्न चाहन्छु-यदि नेपाली काँग्रेसले आफूलाई सच्च्याएर बीपीको आदर्शतिर पार्टीलाई लैजान सकेन भने भीरबाट लड्न लागेको गाईलाई राम राम भन्न सकिन्छ, काँध हाल्न को पो आउला र ? जसजसले काँध हालेर आजको दिनसम्म नेपाली काँग्रेसलाई  ल्याए, ती सबै अब टाढा पु¥याइए या टाढा जान बाध्य पारिए । निश्चित स्वार्थसमूहको अखडा बनाइएको देखिन्छ तर पनि सुधार गर्ने र उदाहरणीय प्रजातान्त्रिक सँस्था बनाउनेतर्फ अनेक उपायबाट नेतृत्वमा पुगेकाहरुको कुनै ध्यान छैन ।

बहिनी जगदम्बा,

अब को छ र ठूलो हुनुभन्दा असल हुनू भनेर समाजलाई बाटो  देखाउने ? राष्ट्रियता भनेको माटो ढुङ्गोमात्र होइन, जनता हो, त्यो जनताको पक्षमा लाग्नु नै प्रजातान्त्रिक समाजवाद हो भनेर सरल व्याख्या गर्ने व्यक्तिको आदर्श पछ्याउने जमात खोइ ? तर पनि हामीले बीपीको त्यो साहस र प्रजातन्त्रप्रतिको त्यो अविचल चट्टानी आस्थाको टाउको निहुराएर सम्मान गर्नैपर्छ र इतिहासको त्यो कालखण्डमा बीपीले गरेको उदाहरणीय मेलमिलाप प्रयास र त्यो निडर रणनीतिको दिल खोलेर प्रशंसा गर्नैपर्छ ।

अरु कुराहरु पछि लेखौँला, अहिलेलाई यत्ति । सबैलाई आरामै होला भन्ने आशा गरेको छु । यी कथाहरु , बीपी गणेशमानजी किसुनजीहरुका कथा मेरा भान्जाभान्जीहरुलाई पनि फुर्सदमा सुनाउनू । उहाँहरुसँग सामीप्यमा पनि तिमी थियौ भन्ने कुरा पनि एउटा जीवित इतिहास बनिसकेको छ र त्यसलाई कहिल्यै पनि  नविर्सनू । 

अरु पनि केही सोध्नु छ भने मलाई इमेल गरेर वा फोन गरेर भए पनि सोधे हुन्छ । म जानेसम्म जानकारी दिने नै छु । 

माया गर्ने ठुलदाजु 

हरिविनोद अधिकारी