उत्तराधिकारी नभएका नेताहरू « Image Khabar


उत्तराधिकारी नभएका नेताहरू



पेशल आचार्य

संसार प्रसिद्ध राजनेता नेल्सन मण्डेलाका राजनैतिक उत्तराधिकारी भएनन् । २७ वर्ष जेल बस्दा उनलाई पर्खेर बस्ने पत्नी विनी मण्डेलाले जीवनको उत्तरार्धमा खाद्य तथा कृषि मन्त्री हुँदा गरेको भ्रष्टाचारको अभियोगमा मन्त्री र पत्नी दुवैबाट मण्डेलाले विनीलाई हठात् त्याग्नु प¥यो । पारिवारिक रूपमा राजनीतिको विराशत थाम्ने अनुजहरू यो राजनीतिक संसारमा अत्यन्त कम भएको इतिहासले नै देखाउँछ ।
जीवनकै अन्य क्षेत्रहरूमध्ये गायन, सिनेमा, कला, व्यापार, उद्योग, लेखन र पत्रकारिताजस्ता क्षेत्रहरूमा चाहिँ विराशतका परिचयमा क्रमभङ्ग भएका पाइँदैनन् । बाउका पथमा छोरा या छोरीहरू खुरुखुरु लागेका छन् ।

नेपालको राजनीतिक इतिहास हेर्दा विराशतको राजनीति फलिफाप भएको छैन । भन्न त कतिपय मानिसहरूले राजनीतिज्ञ कृष्णप्रसाद कोइरालाका तीन भाइ छोराहरू मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालालाई राजनीतिमा लागेर प्रधानमन्त्री भए भन्छन् तर त्यसको मेसो अर्कै छ ।

पिताजी नामकरणले चिनिएका कृष्णप्रसाद राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा मोरङमा खरखार भएर गए । कर उठाउने सिलसिलामा जनताको बास्तविकता देखेर फाटेको सुरुवालको टुक्रो, भोटो र टोपी उनले पार्सल गरी चन्द्र शमशेरलाई पठाएको सन्दर्भमा उनलाई राणहरूले सर्वश्वसहित देश निकाला गरेका हुन् । पछि उनका दुई गुण पत्नी तर्फका तीनैभाइ छोराहरू प्रधानमन्त्री भएका हुन् । दुःखको कुरा त्यति उँचो हाइट भएका मातृका कोइरालाका छोरा कमल कोइराला बौद्धिक, शालीन र योग्य हुँदाहुँदै राजनीतिमा स्थापित हुन सकेनन् । मातृकाको पारिवारिक विराशतलाई राजनीतिमा थाम्ने कोही आएनन् भन्दा हुन्छ । बीपीकै त्यही हालत भयो । उनका तीन भाइ छोरामध्ये जेठा प्रकाश कोइरालाको राजनीतिक यात्रा कहिल्यै थिरको भएन । प्रजातन्त्रवादी र राजावादी भएर यता र उता गरी प्रकाश नाचिरहे । अहिले राजनीतिक रूपमा गुमनाम छन् । माइला छोरा श्रीहर्ष कोइरालाले राजनीतिमा पिकअप लिन सकेनन् ।

कान्छा छोरा वरिष्ठ नेत्र चिकित्सकका परिचयमा उठेका सशांक कोइराला राजनीतिक दौडमा घुँडा धसेर लागिरहेका छन् । उनमा बीपी र कोइराला परिवारको विराशतको परिचयात्मक लिगेसी छ । आफ्नो पार्टीभित्र लोकप्रिय छन् । वर्तमान अवस्थामा शेरबहादुर देउवाले पार्टीलाई समस्याबाट किनारीकृत गर्न सकेभने कोइराला परिवारमा पुनः पार्टी सञ्चालनको वागडोर नजाला भन्न सकिन्नँ । समय र परिस्थिति त्यतैतिर घुमिरहेको छनक पाइन्छ ।

राजनीतिज्ञ केशव कोइराला र नोना कोइरालाका सुपुत्र शेखर कोइरालासमेत राजनीतिक विराशत थाम्न जोडबल गरिरहेका छन् । सशांक र शेखर यी दुई कोइराला बन्धुमध्ये एकको कुनै पनि बेला राजनीतिमा दह्रो पकड हुने जो देखिन्छ । गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवन आँधी बेहरीको कथाजस्तो छ । उनले जीवनको उत्तराद्र्धमा राष्ट्रपतिको चाहना नगरेका होइनन् तर राजनीतिक अवस्था प्रतिकूल भइदिनाले मात्र डा.रामवरण यादबलाई च्याँखे परेको हो । हुन पनि राजनीतिमा सोचिन्छ एकथोक, भैदिन्छ अर्कै । उनले जीवनको अन्तिम पलसम्म छोरी सुजाता कोइरालालाई राजनीतिमा स्थापित गराउने चाल चलिरहे । आफ्नै खरो मिजास र केही बोल्ड डिसिजनका कारण मात्र सुजाता विवादमा तानिइन तर समग्रमा उनको अध्ययन, सोच, कार्यशैली र व्यवहारलाई हेर्ने हो भने उनले गरेको राजनीतिलाई छि भनिहाल्न मिल्दैन ।

डा.पिनाकीप्रसाद आचार्य कोइराला परिवारका ज्वाइँ थिए । उनले केही साहित्यिक कृति लेखे । खासगरी कवि शिरोमणि लेखनाथ पौड्यालको चर्चित कृति ‘बुद्धिविनोद’ को जवाफ लेख्ने काम गरे । उनकी पुत्रीका रूपमा र कोइराला परिवारकी भान्जी गेटअपमा नेतृ शैलजा आचार्यको उदय भयो । २०१७ सालमा राजा महेन्द्रको कदमको खुलेर विरोध गर्ने बागी नेतृ, हक्की, निडर, सैद्धान्तिक धारमा रहनेवाली र लोकप्रिय नेतृ शैलजा उपप्रधानमन्त्रीसम्म भइन । बौद्धिकता र कार्यशैलीका कारणले भन्ने हो भने उनी प्रधानमन्त्री लायककी नेतृ हुन् । उनको राजनीतिमा कोही विराशत भएनन् ।

पहिलो फेजका महिला नेतृहरूमध्ये २०४६ सालको आन्दोलनताककी वाममोर्चाकी नेतृ सहाना प्रधान, काँग्रेसकी शैलजा आचार्य, नोना कोइराला, सुजाता कोइराला हुँदैहुँदै २०६२÷०६३ को आन्दोलनसम्म आइपुग्दा ह्वारारार्अ धेरै महिलाहरू राजनीतिमा छाए र स्थापित समेत भए । यो क्रममा माओवादीका पम्फा भुसाल, ओनसरी घर्ती, माओवादी हुँदै हाल जसपाकी नेतृ हिशिला यमी, एमालेकी विद्या भण्डारी, विद्यार्थी राजनीतिबाटै चर्चा र चासोको विषय भएकी वर्तमान नेकपा एस्की नेतृ रामकुमारी झाँक्री, माओवादीकै शशी श्रेष्ठ लगायतका नेतृहरू छन् । जसमध्ये हिशीला पञ्चायतकालीन मन्त्री धर्मरत्न यमीकी छोरी हुन् । उनले बाबुको विराशत थामिन भन्दा हुन्छ । त्यसैगरी विद्या भण्डारी एमालेकै बिग लिडर मदन भण्डारीकी पत्नी भएकै कारणले समेत राजनीतिक विराशत थामेकी हुन् ।

यो फेजमा धेरै महिलाहरू सरकारमा गए र संसदको लगाम लिन सफल भए तर तिनीहरूको समग्र व्यक्तित्व पदभन्दा राजनैतिक उचाइमा स्पष्ट नभएर जनताका मन मन्दिरमा उति लोकप्रिय हुन सकेनन् । यो क्रममा शिवमाया तुम्बाहाम्फे, लीला श्रेष्ठ सुब्बा पर्दछन् ।
जहाँसम्म विराशतको कुरा छ त्यो परिवार र आमाबाबुको चाहनाले मात्र नहुने रहेछ । विश्वमै हेर्दा चर्चित राजनीतिज्ञ र राजनेताहरूका पुत्रपुत्रीहरू मातापिताका रूचिबाहिर विभिन्न पेसामा गई गुमनाम भएका छन् । गान्धीका नाति भारतीय रिजर्भ बैँकमा सामान्य कल्र्क थिए जो दिनभरि नोट गनेर बेलुका डिउटी बुझाउने बेला गहभरि आँसु बनाएर रून्थे रे भनेर कतै पढ्न पाइन्छ ।

भनेपछि नृेतृत्व भन्ने कुरा बाउ आमाले थपक्क पदमा राखिदिएर र थोपरिदिएर हुने होइन रहेछ । यो त देश दुनियाँ र विचार अनुकूल जनताको चाहनालाई एकाकार गर्दै स्वतः आफैँ आउने कुरा रहेछ । वर्तमान नेपालमा फरकफरक कित्ता र विचारबाट अहिले धेरै प्रकृतिका मानिसहरू राजनीतिमा हाम्फालेका छन् ।

बाह्र सत्ताइस अनाबसनाब भाषण गर्नेहरू समेत राजनीतिमा आएका छन् । पुख्र्यौली विराशतका रुपमा बाबुबाजेको नाम भँजाएरसमेत आफू पदमा टिकिरहनका लागिसमेत राजनीतिलाई पेसा बनाएका छन् । तर अहिलेको जमानाअनुसार अब नेतृत्व भनेको शासन गर्ने मात्र होइन रहेछ । उसले त देश, काल र परिस्थितिअनुसार समग्र राजनीतिकै व्यवस्थापन गर्नु पर्ने रहेछ भन्ने कुरा युवा पुस्ताले पढेर, देखेर र जानेर बुझिसकेकाले अब त्यस्ता युवापुस्तालाई ट्याकल गर्न सक्ने फराकिलो सोच भएका, ज्ञान, विज्ञान र वर्तमान प्रविधिमा चुस्तदुरुस्त भएका नेताहरू नै देशको खाँचो हुन् ।

तर अहिलेको अवस्थामा मनी, मासल्स र माउजरको हरेक पार्टीहरूमा बिग्बिगी भएको देखिएको छ । चुनाव जित्नका लागि हरेकले संसदीय क्षेत्र भएर दुई चार करोड र प्रदेश भए करोडको ¥याङ्कमा पैसा नखर्ची सम्भवै छैन । यो भनेको राजनीतिमा विकृति बढेको हो ।
भारतीय राजनीतिमा प्रधानमन्त्री चन्द्रशेखर र अटलविहारी वाजपेयीका सन्तान थिएनन् । तिनीहरू आफ्नो जीवनमा सानदार करिश्मायुक्त जीवन बाँचेर गए । त्यहाँ निलोर्भी महामनाहरूको नामको ठूलो पंक्ति हुनजान्छ । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीका समेत पारिवारिक विराशतमा आउन सक्ने कोही देखिएका छैनन् । संस्थागत रुपमा केही चर्चा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको केही चर्चा चल्ने गर्छ ।

नढाँटी भन्ने हो भने वर्तमान नेपाली राजनीतिका ‘किङ मेकर’ भनिएका प्रचण्ड, माधव नेपाल, झलनाथ, ओली, बाबुराम र देउवाकै राजनीतिक उत्तराधिकारी कोही देखिँदैनन् । ती पार्टीका अन्य दोस्रो पुस्ताका नेताहरू पहिलो पुस्ताका नेताका उत्तराधिकारी हुने कुनै लक्षण यतिन्जेलसम्म देखिएको छैन । अतः यो भ्याकुमलाई भर्नका लागि अब तत्तत् पार्टीका युवाहरूले सकारात्मक रुपमा हस्तक्षेपको नयाँ शृङ्खला शुरू गर्नुपर्ने दायित्व आइसकेको देखिन्छ ।