Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


११ हजार पूर्वराष्ट्रसेवकले लिए कानुनविपरीत दोहोरो सुविधा, वर्षमै सरकारी ढुकुटीको ४० करोड दोहन


26
Shares

काठमाडौं । पूर्वराष्ट्रसेवकको सुविधाबारे सामाजिक सुरक्षा ऐन भन्छ कि पेन्सन लिनु कि सामाजिक सुरुक्षा भक्ता । तर, करिब ११ हजार पूर्वराष्ट्रसेवकले कानुनविपरीत पेन्सन र सामाजिक सुरक्षा भक्ता दुवै लिँदै आएका छन् । दोहोरो सुविधा लिनेमा पूर्वनिजामती, पूर्वसुरक्षाकर्मी र पूर्व शिक्षक धेरै छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालै गरेको छानबिनपछि दोहोरो सुविधान लिँदै आएकाहरुको सूची तयार गरेको छ । विभागले त्यस्ता दुई हजार चार सय ६६ पूर्वराष्ट्रसेवक कर्मचारीलाई लाभग्राहीको सूचीबाट हटाएको छ । उनीह्रुको लगतकट्टा गरेको छ । आठ हजार सात सय ६३ माथि छानबिन अघि बढाएको छ । उनीहरुमध्ये अधिकांशले दोहोरो सुविधा लिइरहेको विभागको भनाइ छ ।

कानुनविपरीत दोहोरो सुविधा लिने ११ हजारलाई लाभग्राहीबाट हटाउँदा महिनामै राज्यको तीन करोड ३० लाख रुपैयाँ बचत हुन्छ, जुन वर्षमा झन्डै ४० करोड हुन आउँछ । दोहोरो सुविधा लिइरहेको रकम उनीहरुले फिर्ता नगरे कानुनी कारबाहीको बाटोमा जाने विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताए ।

‘दोहोरो सुविधा लिनेको लगतक्टा गरी यसरी लिइएको रकम फिर्ता गराउन स्थानीय तहहरुलाई पत्राचार गरिएको छ,’ बस्नेतले भने, ‘यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेर छानबिन भइरहेको छ, कसैले फिर्ता नगरे कानुनी कारबाही हुन्छ।’

नयाँ पत्रिका