
-नवीन सिंह/ईमेज
जनकपुर, प्रदेश २ को प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आवश्यक पक्रिया थालेको छ ।
गत कात्तिक ४ गते गठन भएको आयोगले कार्यालय व्यस्थापनका साथै कर्मचारी भर्नाका लागि आवश्यक ऐन तथा नियमावलीको निर्माणमा जुटेको हो ।
संविधानको प्रावधानअनुसार प्रदेश २ मा प्रदेश लोकसेवा आयोग गठन गरी काम कारवाही अघि बढ्न थालेको हो ।
यसअघि संघीय सरकारसँग कर्मचारी भर्नाको विषयमा असन्तुष्टि जनाउँदै आएको प्रदेश सरकारले प्रदेश लोकसेवामार्फत् आवश्यक कर्मचारी भर्नाको प्रक्रिया सुरु गर्न थालेको हो ।
त्यसका लागि पहिलो चरणमा कार्यालय व्यवस्थापन नीति तथा नियम निर्माणको तयारीमा आयोग जुटेको छ ।
कर्मचारी भर्नाका लागि पहिलो चरणमा प्रदेश निजामती ऐन, नियमावली, निर्देशिका लगायत मस्यौदा तयार भइसकेकोेले पारित भएपछि छिटै कामले गति लिने प्रदेश २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए ।
प्रदेशअन्तर्गतका कुन संस्थामा कति कर्मचारीको आवश्यकता छ भन्ने स्पष्ट नभएसम्म काम अगाडि बढाउन गाह्रो हुने भएकाले त्यसको तयारी हुन थालेको हो ।
लोकसेवा आयोगकै मापदण्ड अनुसार कर्मचारी भर्ना गर्ने बताउँंदै प्रदेशको आवश्यकता र भूगोललाई ध्यानमा राखेर कानुनको मस्यौदा तयार पारिएको अध्यक्ष यादवको भनाइ छ ।
आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रदेश सरकारलाई आवश्यक कर्मचारी व्यवस्थापनका लागि ओ एण्ड एम गरेर तत्काल प्रदेश लोकसेवा आयोगलाई बुझाउन पत्रचार समेत गरिसकेको छ ।
प्रदेश सरकार तथा प्रदेश २ मा रहेका स्थानीय तह, प्रदेश प्रहरीलगायतका लागि आवश्यक पर्ने कर्मचारी प्रदेश लोकसेवाले छनोट गर्ने संवैधानिक व्यवस्था रहेको प्रदेश सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्