आन्तरिक एकतालाई सुदृढ बनाउने एमालेको निष्कर्ष « Image Khabar


आन्तरिक एकतालाई सुदृढ बनाउने एमालेको निष्कर्ष

सुदूरपश्चिम इन्जार्च आफू भएको भट्टको दावी, १० बुँदे कार्यान्वयनले टुङ्ग्याउने रावलको तर्क

Border circle
Imagekhabar

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

दश बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो । बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायहरूको बारेमा छलफल सुरु गरेको कार्यदलका संयोजक भीम रावलले जानकारी दिनुभयो ।

‘विधान महाधिवेशनमा प्रतिनिधित्वको विषय र १० बुँदेको कार्यान्वयनको सम्बन्धमा देखिएका समस्याहरू समाधानका लागि एउटा नीतिगत व्यवस्था गरेर तदनुकूल नै त्यस्ता समस्या समाधान गर्ने कुरा गरेका छौं,’ उहाँले भन्नुभयो, ‘दश बूँदेको कार्यान्वयन धेरै ठाउँमा भइसकेको छ, कार्यान्वयन हुन नसकेको ठाउँमा छिटो कार्यान्वयन गरेर जाने कुरा भएको छ ।’

रावलले सुदूरपश्चिम प्रदेशको इन्जार्चको विषयमा देखिएको विवाद पनि १० बुँदे कार्यान्वयनको सन्दर्भमा नै आउने बताउनुभयो ।

बैठकमा कार्यदलका सदस्यहरूले पार्टीको आन्तरिक एकता अझै मतबुत बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि २०७५ साल जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरूको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढने विषयमा पनि छलफल गरिएको कार्य दलका सदस्य लेखराज भट्टले बताउनुभयो । उहाँले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दावीसमेत गर्नुभयो ।

संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ । संयोजक रावलले सो विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गर्नुभयो । कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्