२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


चिसो काठमाडौंलाई तताईन भारतीय गायिका आशा भोस्लेले


0
Shares

– अर्जुन भुसाल

काठमाडौं, पुस १३ । भारतीय गायिका आशा भोस्लेको प्रस्तुतिबाट नेपाली दर्शकले शनिबार भरपूर मनोरञ्जन लिएका छन् ।

काठमाडौँको एक होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए । कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरेका थिए ।

साधाना कला केन्द्रको आयोजनामा गरिएको सो कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किए । भोस्लेले पनि गजमेरको सङ्गीतमा केही नेपाली गीतमा स्वर दिईन् ।

किन बढ्दैछ ढुकढुकी मुटुको, आगेआगे तोपकै गोला, डाँडा खोलाबगर, झझल्को लिएर आएछ, माइतीघर, मोहनी लाग्ला है लगायतका गीत प्रस्तुत गरिन् ।

मोहनी लाग्ला है गीतमा गायक रामकृष्ण ढकालले भोस्लेलाई साथ दिए । करीब २० मिनेट गीत गाउँदा दर्शकदीर्घाबाट पटक–पटक तालीको गडगडाहट बर्सियो ।

दर्शकको समर्थन र हौसलाबाट उनी उत्साहित देखिन्थिन् । ८६ वर्षीया गायिका भोस्लेले अहिले पनि उस्तै गरी गीत गाएको देख्दा दर्शक अचम्मित भए ।

उनले हरे कृष्ण हरे राम बोलको हिन्दी गीत पनि गाईन् । भोस्लेले नेपालमा आउँदा पाएको सम्मान स्मरणयोग्य रहेको बताइन् । उनले गजमेरलाई पटक–पटक कान्छा भनेर बोलाउँदा गजमेर निकै खुशी देखिन्थे ।

उनले नेपाली अतिथिको सम्मान र सत्कारमा सधैँ अघि रहने गरेको बताइन् । कार्यक्रममा इन्द्रजीत मिजार, भारती घिमिरे, दीप श्रेष्ठले पनि प्रस्तुति दिए ।

अन्य थुप्रै कलाकारले रञ्जित सङ्गीत र उनकी पत्नी कुशुम गजमेरका शब्दमा रहेका गीतहरु गाए । हल गुञ्जयमान बनिरह्यो  ।

हेर न हेर कान्छा, चिसो–चिसो हावामा, सुन भनन, पहाडको माथिमाथि, वीरताको चिनो, टाढा भइनदेऊ फेरि, तिमी मेरो म तिम्रो, भनिदेऊ आज, यो बाटो कहाँ जाने हो, पिरतीको मिठो तिर्सना, लहनाले, पिएको त, साउने झरीमा, यो मुटुलाई, दिलमा फोटो छ लगायतका गीत विभिन्न कलाकारहरुले प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यक्रमको अभिरुचिपूर्वक अवलोकन गरेका थिए । रासस