१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


दुइवटै किड्नी फेल भएकी शान्तिमायालाई उपचार खर्चको अभाव


0
Shares

काठमाडौं । इलामको रोङ गाउँपालिका–४ निवासी ५५ बर्षीया शान्तिमाया तामाङ दुईवटै किड्नी फेल भएपछि उपचार खर्चको अभावमा जीवन मरणको अवस्थामा छटपटाइरहेकी छन् ।

इलाम, झापा र भारतको सिलीगुढीका अस्पतालहरुमा पटक पटक उपचार गरिए पनि विराम ठिक नभएपछि हाल उनी काठमाडौं, ग्वार्कोको किष्ट अस्पतालमा डायलायसिस प्रविधिबाट उपचार गराइरहेकी छिन् ।

न्यून आर्थिक अवस्थाका कारण अस्पतालमा उचार गराउन कठिन भएको उनका श्रीमान हेमलाल तामाङले जानकारी दिए । ‘धेरै तिरका अस्पताल पुर्‍याउँदा लाखौं खर्च भइसक्यो, भएको जायजेथा बेच्दा पनि खर्च पुर्‍याउन कठिन हुने रहेछ,’उनले भने ।

दुई छोरा र एक छोरीकी आमा शान्तिमायालाई अझै धेरै बर्ष बाँच्ने इच्छा भएकाले उपचार खर्चको अपेक्षा गरेकी छिन् । ‘बाँच्ने रहर हुँदाहुँदै पनि खर्च अभावमा छटपटाउनु परेको छ,’ उनले भनिन,‘ गरिबले पनि बाँच्न त पाइन्छ होला नि सर ।’

शान्तिमायाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकहरुका लागि सनराइज बैंकमा रहेको खाता नम्बर–०७००४६५८०४२०५००१–हेमलाल तामाङको नाममा रकम जम्मा गर्न सकिन्छ । उनलाई सोझै सम्पर्क गर्नका लागि नम्बर –९७४२६७८४८२ र ९८१६९९१४६५ रहेको छ ।