Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


नेताहरुको अस्वाभाविक व्यवहार देख्दा लज्जाबोध हुन्छ : कमल थापा


0
Shares

काठमाडौं, पुस १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भारतीय राजदूत मन्जीभसिंह पुरीको बिदाइमा नेताहरुको ‘अस्वाभाविक व्यवहार देखिएको’ बताएका छन् ।

विभिन्न देशका राजदूतहरु आउने–जानेक्रम चलिरहने र त्यो स्वाभाविक प्रक्रिया भएको उनले उल्लेख गरेका छन् ।

शनिबार बिहान आफ्नो ट्वीटमा उनले लेखेका छन्–‘तर, अहिले भारतीय राजदूतको बिदाइको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वाभाविक व्यवहार देख्दा लज्जाबोध हुन्छ ।’

देशमा ठूलो परिवर्तन भएपनि ‘नेताहरुको राणाकालीन आत्मसमर्पणवादी मानसिकता भने झन् बढेर गएको’ उनको आरोप छ । 

बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसित राजदूत पुरीले यही पुस ८ गते राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार बिदाइ भेट गरेका थिए ।

सोही दिन बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसित पनि राजदूत पुरीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर बिदाइ भेट गरेका थिए । प्रधानमन्त्री ओलीले उनलाई करुवा उपहार प्रदान गरेका थिए ।

दुवै भेटमा पुरीकी श्रीमती पनि साथमै थिइन् ।

यस्तै, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसित उनीहरुकै निवासमा पुगेर पुरीले बिदाइ भेट गरेका थिए ।

ती भेटहरुकाबारेमा सामाजिक सन्जालमा विभिन्न टीका–टिप्पणी भएको थियो । 

नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरी आफ्नो कार्यकाल सकाएर आउँदो जनवरी १ तारिखमा स्वदेश फर्कंदैछन् । उनी सन् २०१७ मार्च २६ देखि यहाँ भारतीय राजदूतकारुपमा रहेका छन् ।