अन्तरद्वन्द्वमा रुमल्लिएकाे काङ्ग्रेस « Image Khabar


अन्तरद्वन्द्वमा रुमल्लिएकाे काङ्ग्रेस


Border circle
Imagekhabar

पेशल आचार्य

नेपाली काँग्रेसका प्रवक्ता तथा युवानेता विश्वप्रकाश शर्माले काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा दिएको उम्मेदवारी घोषणा सभामा आफ्नो १, २, ३ र ४ फर्मुला घोषणा गरे । उनको त्यो फर्मुला गज्जबको छ । आउने चुनावपछि उनले प्रस्ताव गरेका छन् कि राष्ट्रपतिमा एकपटक, प्रधानमन्त्रीमा दुईपटक, मन्त्रीमा तीनपटक र सांसदमा चार पटकभन्दा बढी कुनै जनप्रतिनिधिले कार्य गर्न नपाउने व्यवस्था लागू गर्नुपर्छ । सो व्यवस्थाको पहलका लागि आफूले काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिएको हो भन्ने कुरासमेत उनले प्रष्ट पारेका थिए ।

महामन्त्रीमा उठेका दुईजना अन्य युवाहरू गगन थापा र प्रदीप पौड्यालमध्ये शर्माको यो सोच नवीन, व्यवहारिक र आफ्नै पार्टीका पदका भोका नेताहरूलाई लगाम लगाउने खालको छ । खुसीको कुरो त के भने काँग्रेस महामन्त्रीका तीनैजना प्रत्यासीहरू युवा छन् । जसजसले जिते पनि सो पदबाट युवाहरूको कार्यभार त्यहाँ शुरू हुने निश्चित देखियो । योचाहिँ खुसीको कुरा हो ।

शर्माको यो प्रस्ताव जति व्यावहारिक र उचित छ उति नै पार्टीको आन्तरिक जीवनबाट पारित भई लागू हुनेमा शंका छ । भन्न त नेताहरू चुनावताका जनतामा जाँदा भन्न हुने नहुने, गर्न सकिने नसकिने र देशले थेग्ने नथेग्ने सबै कुरा अनाबसनाब रूपमा बक्छन् । काँग्रेस मुलुकको जेठो पार्टी मात्र नभएर सबैभन्दा पुरातनपन्थी सोच राख्ने, यथास्थितिमा रमाउने र भए गरेका कुराहरूलाई सुधार्दै अग्रगामी छलाङ् मार्नै नसक्ने ठूलो पार्टी हो, तैपनि काँग्रेसीहरू यसै आत्मरतिमा मख्ख छन् । बीपीले राखेको समाजवादको सपना अहिलेका शेरबहादुरको काँग्रेसले उहिले निजीकरणमै पोलेर खाइसक्या हो ।

काँग्रेस भनेको जनतामा जाने, दुःखसुखका कुरा गर्ने, खेती किसानीमा रमाउने, ग्रामीण उत्पादन वृद्धि गर्ने, विकास र समृद्धिका सपना सँगाल्ने पार्टी नभएर सिँहदरबारमा झोक्राएर बस्ने, उस्तै परे बालुवाटार र बुढानीलकण्ठ पल्सर बाइकमा ओहोरदोहोर गरेर, चाकरी बजाएर, आरजू भाउजूलाई खुसी पार्दै टिकट जिब्ट्याएर चुनाव जिती ठूलो हुने सोच राख्छ ।

विचरा समाजवादी चिन्तक प्रदीप गिरीका कुरा अहिले पार्टीमा धिमा स्वरले समेत सुनिन छाडे । नेपाली काँग्रेस २०४६ सालपछि यताका समयमा सबैभन्दा धेरै समय सत्तामा व्यतित गर्ने पार्टी हो । उसले पञ्चायतले विराशतमा छाडेका उद्योगधन्दालाई समाजवाद उन्मुख कार्यनीति ल्याएर ओभर वाइलिङ् गरी देशको कूल गार्हस्थ उत्पादन वृद्धि हुनेगरी प्रयोग त गरेन । रामशरण महतजस्ता विश्व बैँक र एडिबीका ‘कुरौटे कार्यकर्ता ल्याएर उनीहरूका आदेश हुबहु तामेल गर्ने अर्थमन्त्री’का रूपमा देशका गिनेचुनेका उद्योगधन्दाहरू उल्टै मटियामेट गरिदियो । उसले सो बेलामा किसान, मजदुर, निम्न वेतनभोगी राष्ट्रसेवक कर्मचारी, शिक्षक, वकिल र प्राध्यापकहरूलाई दीर्घकालीन राहत हुनेगरी कुनै पनि कार्यक्रमहरू लन्च गर्न सकेन । अर्थमन्त्रीमा जहिल्यै रामशरण महतको संकलनमुखी सोचले काम गरिरह्यो भने काँग्रेस राष्ट्रिय राजनीतिमा खिसीको विषय बनिरह्यो ।

वामपन्थीहरू सत्तामा जाँदा उनीहरूले काँग्रेसका पालामा संकलन भएको राजश्वमा दाइँ गर्दै वितरणमुखी र लोकप्रिय बजेट बनाए । त्यसैले काँग्रेसले दुःख गरेर सञ्चिति गरेको राजश्वलाई वामपन्थी अर्थमन्त्रीहरूले चुनावलक्षित बजेट बनाएर भाङ्भुजा पारिदिएका कैयौं दृष्टान्तहरू मुलुकमा छन् । नेकपाको दुईवटा बजेट अर्थमन्त्रीका हैसियतले डा.युवाराज खतिवडाले ल्याए जसमा समृद्धि र विकासका रटानहरू गरियो ।
गाउँपालिका र नगरपालिका स्तरमा स्कुल, स्वास्थ्य चौकी, विद्युत्, टेलिफोन र वाइफाइका सट्टा डाँडाकाँडामा भ्यु टावर बनाउनका लागि बलजफ्ती बजेट राखी कंक्रिटका संरचनामार्फत् संवृद्धिको अपेक्षा राखियो तर त्यसरी मुलुकमा संवृद्धि आउँदैन भन्न सक्ने अवस्थामा काँग्रेस हुँदाहुँदै समेत संसदमा चुँसम्म बोल्न सकेन ।

गएको ओली सरकारले भारतबाट नेपालमा कुदाउनका लागि अरबौं रुपैयाँ खर्चेर रेल ल्यायो तर ल्याएको एक वर्षसम्म पनि त्यसलाई त्रिपाल ओढाएरै राख्यो । त्यस्ता कुराहरूको मुतोड जवाफ दिन नेपाली काँग्रेसलाई कसैले रोकेको थिएन । न उसको ऊर्जालाई केहीले थुनेको थियो तैपनि काँग्रेस सुस्त भैदिनाले ओलीले दैनिक केही न केही झुट र फरेबहरू काँग्रेस लगायतका पार्टीहरूमा लगाउँदै कुष्ठित आत्मश्लाघा बोकेर दाइँ गरे । देशमा सबैभन्दा धेरे पत्रकार सम्मेलन गर्ने र सिँहदरबार नगई बालुवाटारबाटै शासन गर्ने प्रधानमन्त्रीमा उनी हिट लिष्टमा चुनिए ।

उमेरले पचास नाघिसकेका विश्वप्रकाश शर्माले ल्याएका माथिका नूतन चिन्तनले उनी र उनीजस्ता युवा पुस्ताका लागि धेरै आसलाग्दो भविष्य देखाएको मात्र छैन नेपाली काँग्रेसको सुकिसकेको रूखमा प्राण भर्ने काम गरेको छ । तर काँग्रेसले शर्माले सुझाएका कुरा उनको पार्टीले अधिवेशनबाट पारित गरेर लागू गर्ला भनी सय मनमा दस मनमा समेत विश्वास गर्न सकिँदैन किनकि अहिले काँग्रेसमा करिब ६०/७० कटेका नेताहरूले पार्टी र कार्यकारी राजनीतिमा हालीमुहाली गरेका छन् ।

मुलुकमा काँग्रेस र नेकपामा धेरै जेरेन्टोक्रेसीलाई बढावा दिने नेताहरू रहेका छन् । यो कुरा तत्तत् पार्टीका युवाहरूले बुझेर यस्तै महाधिवेशनहरूबाटै सकारात्मक हस्तक्षेप गर्ने परिपाटी बसाल्नु पर्दछ ।
गएको २०७८ असोज, १ गते शुक्रबार ‘कान्तिपुर’ दैनिकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरी ‘ब्यानर न्यूज’ लेखेको छ । सो न्यूजमा ‘अक्षमताको मार्गमा देउवा’ शीर्षकमा ७ बुँदामा उक्त दैनिकले भनेको छ —
— ६६ दिनसम्म मन्त्रिपरिषद्समेत विस्तार गर्न सकेनन, १७ मन्त्रालय अस्वाभाविक भारी
— दुई महिनासम्म पनि बजेटबारे धारणा बनाउन नसक्दा इतिहासमै पहिलोपटक देश आर्थिक ‘सट डाउन’मा
— प्रधानमन्त्री सिँहदरबार जाँदैनन्, फाइल बोकेर बालुवाटार दौडादौडमा सचिव, कतिपयले भेट पाउँदैनन्
— सर्वोच्चको ऐतिहासिक फैसलाबाट पुनःस्र्थापित संसदको गत अधिवेशन अचानक अन्त गराए फेरि बोलाएको संसदलाइ द्वन्द्वबाट निकाल्न सकेनन् ।
— १५ अध्यादेश निष्क्रिय, कोभिड अस्पताल, खोप खरिद, तेजाब तथा यौन हिँसाका पीडकलाई सख्त कारबाही गर्ने र पीडितलाई राहत दिने अध्यादेश पनि निष्क्रिय ।
— तुइन खुस्काएर नेपाली युवालाई महाकालीमा खसाइएको र अनुमतिविना नेपाली आकाशमा हेलिकोप्टर उडाइएको बारे भारतसँग पत्राचार गर्नसमेत आनाकानी ।
— एमसीसीका बारेमा स्पष्ट हुने नाममा नेपालको संविधान र सार्वभौमिकताबारे शंका व्यक्त गर्दै पत्राचार तर सम्झौताबारे गठबन्धनभित्रै साझा धारणा बनाउन असफल ।
कान्तिपुर जस्तो पत्रिकाले समेत शेरबहादुर देउवाको अक्षमताको खुलेर बखान गर्न थालेपछि अब बाँकी भन्ने केही रह्यो त ? यस्तो अवस्थामा हुने महाधिवेशनले उसको भविष्यको संकेत गरेको छ । त्यो संकेतका केन्द्रमा अन्तद्र्वन्द्व मात्र रहेको देखिन्छ । युवापुस्तालाई राजनीतिमा अब पनि काँग्रेसले सिष्टमाइज रुपमा इन्ट्री नगर्ने हो भने काँग्रेस कि सिद्धिन्छ कि बेलैमा सच्चिएर उसले आफ्नो कार्यशैलीलाई बदल्नु आवश्यक छ । यसैमा काँग्रेसको भलाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्