५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


कांग्रेस महाधिवेशन : सिद्धान्त भर्सेज ‘विरासत’


0
Shares

लाओस राई

पूर्वजहरु भन्छन् हिंग नभए पनि हिंग बाँधेको टालो छ । नेपाली समाजमा एक कथन छ, ‘मेरो बाजेले घ्यू खाको थियो नपत्याए मेरो हात सुँग त ?’ सुन्दा अनौठो लाग्ने यी भनाईले मानवको स्वभाव, चरित्र, ब्यवहार र आचरणलाई प्रतिबिम्बित गर्छ । साथै व्यक्तिको धाक, स्वर्थ, दम्भ, लोभ/लोलुपता र अहमतापूर्ण स्वभावको उजागर पनि गर्ने गर्छ । त्यसैले गाउँ समाजमा कसैले धक्कु लगाउने खालको घोचपेच गर्दा यी वाक्यासंहरु उच्चारित भईरहेको पाइन्छ । विश्व विद्यालयमा त पढ्नु नै पर्छ । त्यही आचारण, स्वभाव  र व्यवहारलाई राजनीतिको  केन्द्रमा राख्दै नेपाली कांग्रेसको चौधौं महाधिबेशनको तयारी, उठाउन खोजिएको राजनीतिक मुद्दा र देशको भविष्यप्रति गरिएको चासो र चिन्ताको विषमा केन्द्रित हुँदै पार्टी भित्र बिरासत र सिद्दान्तको यथार्थ अवस्था र महाधिवेशनको बारेमा चर्चा गर्न यहाँ सान्दर्भिक देखियो ।

इतिहासमा कांग्रेस के थियो ? त्यसको बारेमा चर्चा गरिरहनु पर्दैन । संघीय लोकतान्त्रिक नेपालको संविधान निर्माणमा नेपाली कांग्रेस नेतृत्वदायी अवस्थामा थियो । र त्यो इतिहास बनिसक्यो । त्यसको बारेमा लामो बहस गरिरहनु धेरै सान्दर्भिक हुँदैन । प्रमुख कुरा समुन्नत नेपालको लक्ष्य राख्दै व्यक्तिगत स्वतन्त्रता, सामाजिक सुरक्षा सहितको  लोककल्याणकारी राज्य व्यवस्थाको सुनिश्चितताको ग्यारेन्टी जस्ता प्रमुख पक्षहरुलाई लोकतान्त्रिक समाजवादसंग जोड्ने सन्दर्भमा कांग्रेसको भूमिका अग्रपंतिमा छ  । माओवादीको शसस्त्र बिद्रोह अन्त्य त्यसको उदाहरण हो । यी  लोकतान्त्रिक समाजवादको आधारभूत पहलहरु कांग्रेस बोकेकै कारण कांग्रेस जनता माझ प्रिय छ । जनताको हक अधिकारको सुनिश्चतता र रक्षाका निम्ति गरेका सघर्ष, बलिदान र योगदानलाई हेर्दा कांग्रेसलाई सँधै सम्मान गर्दै स्यालुट गर्नपर्छ ।

यदी नयाँ पुस्ताले पार्टीलाई सम्मान गर्न भुल्यौ भने वा गरेनौं भने सिंगो कांग्रेसको इतिहासलाई अपमान गरेको ठहरिन्छ । इतिहासप्रति गरेको अन्याय वा गद्दारी ठहर्ने छ । त्यसैले नयाँ पुस्ताले इतिहासको अपमान हुने गतिबिधि र  गद्दारपूर्ण हर्कतहरु कहिल्यै गर्न हुँदैन । यदि कसैले  त्यस्तो गतिबिधि गर्ने प्रयत्न गर्यो भने त्यो ब्यक्ति वा समूह कारबाहीको भागी हुनेछ । हरेक कोणबाट पार्टीलाई सबल, सक्षम् र संगठित बनाई राख्न नयाँ पुस्ताको कर्तब्य हो । लोकप्रियताको  दृष्टिकोणबाट हेर्ने हो भने नेपाली कांग्रेस कुनै कालखण्डमा कमजोर थिएन र आज पनि कमजोर छैन र भविष्यमा हुँदैन पनि । किनकी कांग्रेससंग स्वतन्त्रताको मुद्दा छ । त्यसैले कांग्रेस पार्टी लोकप्रिय छ ।

महाधिबेशन नजिकिएसंगै सभापतिका आकांक्षीहरु थपिदै छन् । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल बाहेक अरुले पनि सभापतिमा आकांक्षा देखाएका छन् । सबैले आ–आफ्नो ढंगले स्वयमको प्रचारप्रसार गरिरहेका छन् । आकांक्षीहरुले स्वतन्त्रको प्रयोग गर्नु राम्रो पनि हो । किनकि यो समय विज्ञान प्रविधिको युग हो । युग अनुसारको काम गर्नु पर्छ । देश अनुसारको भेष लगाउनु नै पर्छ । अन्यथा जोक्कर बन्ने डर उतिकै छ । त्यसैले प्रविधिको प्रयोगलाई समयको उपलब्धि मान्नु पर्दछ । जहाँसम्म उम्मेदवारीको  विषय छ, त्यो पनि त्यति महत्वको विषय होईन  । किनभने  सहज परिस्थिमा पार्टी भित्र व्यक्तिको उमेदवारी स्वभाबिक बढ्छ । फेरी राजनीति गर्ने व्यक्तिमा महत्वकांक्षा जागेन भने वा जगाइएन भने उनीहरुको अवस्था फल बिनाको बृक्ष जस्तै हुन्छ । वा पछी लाग्ने मान्छे नै हुँदैन पनि ।

तर ति सभापतिका दाबेदारहरुले राजनीतिक, बैचारिक, सैद्धान्तिक क्षमताको प्रचार प्रसार गर्नु भन्दा बिरासत र बाउ बाजेले हिंग बानेको टालो देखाएर सभापतिको दावा गर्नु चाँही एक प्रकारले कांग्रेसको लागि दुर्भाग्यपूर्ण अवस्था मान्न पर्दछ । किनकि त्यो दावाले पहिलो कुरा कांग्रेस भित्र हुत्ति भएका मान्छे छैन भन्ने देखिन्छ । दोस्रो कुरा, विरासतको दासत्व स्वीकार्ने जमात मात्र छन् भन्ने बुझिन्छ । उनीहरु त विरासतकै कारण,  बाउको कारणले उनीहरु तीनै जना महामन्त्री भइसके । नेतृत्व पुग्न त सभापति बन्नलाई त नयाँ राजनीति धारणा, विचार र नयाँ राजनीतिक  आयामले पूर्ण हुनु आवश्यक पर्दछ । तर ‘तीनै जना अधीराजकुमारहरुसंग’ राजनीतिक आयाम सून्य देखिन्छ । उनीहरुसंग हिंग बाँधेको टालो मात्र छ । त्यही टालोले मात्र उनीहरु सभापति बन्न सक्दै सक्दैनन् । फेरी उम्मेदवारीको हल्ला गर्यो भन्दैमा त्यसलाई त्यति ठूलो रुपमा हेर्न पर्दैन ।

जस्तो कि एक घट्नाको स्मरण गरौं । दरवार भित्र राजा प्रतापसिंह शाह कमजोर हुँदा बहादुर शाहले राजा हुने कोशिस गरे । त्यही कारण उनले दण्ड भोगेको घटना शाह वंशीय इतिहासमा उल्लेख छ । राणा शासनमा प्रधानमन्त्री बन्न राणाका छोराहरु, दाजुभाई, भाई भतिज जुलुस जस्तै हुन थालेपछी परिवारै भित्र काटाकाट मच्चिएको घटना पनि इतिहासले बोलेको छ । त्यस्तो कठिन परिस्थिमा त शक्तिप्रति आकर्षण थियो भने लोकतान्त्रिक पार्टी भित्र पार्टी सभापति बन्नु प्रतिस्पर्धामा उत्रिनुलाई अस्वाभाविक मान्न हुँदैन । किनकि प्रमुख भनेको प्रमुख नै हो । राजनीतिक व्यक्तिमा शक्तिप्रति मोह बढ्नु,उनीहरुको चारित्रिक बिशेषता हो ।

आन्दोलनताका गिरिजाबाबुले जनआवाजलाई उत्साह र जोस जागर थप्न भन्ने गर्थे –‘यो आन्दोलन पूरानो युग (राजातन्त्र र नयाँ युगको ) गणतन्त्र बीचको द्वन्द्ध हो । यस लडाँइमा नयाँ युगको जित हुन्छ ।’ आखिर त्यस्तै भयो । जित नयाँ युगको भयो । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो ।  मैंले यी तीन इतिहासका घटनालाई महाधिवेशनसंग जोड्न किन खोजेको हो भने अब सबै किसिमका महाराजा, अधिराजकुमार, भाई भारदारी र विरासतको युग समाप्त भईसक्यो भन्ने सन्दर्भमा यी  घटना क्रमको उल्लेख गर्न खोजेकाे हुँ । बिरासत र महाराजाधिराजको अन्त्य त गिरिजा बाबुले पहिले नै गरिसकेको भन्ने बुझेका थियौं । तर अहिले आएर विरासतधारी तीन पुत्र (शंशाक, प्रकाशमान र बिमलेन्द्र)ले स्वयमलाई उत्तराधिकारी सम्झेर ‘मेरा बाले घ्यु खानु भएको थियो । नपत्याए मेरो हात सुंग त’ भन्न कति उपयुक्त र यथार्थपरक हुन्छ ? त्यो कत्तिको सुहाउँदो हुन्छ ? हिंग बाँधेको टालो देखाउनु कत्तिको जायज हुन्छ ? त्यो निष्ठवान कार्यकर्ताले भन्नपर्यो । निष्ठावान कार्यकर्ता त्यतातिर घोत्लिनु पर्दैन र ? के ति दावा, घमण्ड, महत्वकांक्षा सहि छ ? भन्ने सन्दर्भमा मात्र उल्लेख गरेको हुँ ।

यी प्रश्नहरु तीन ‘अधिराजकुमार’लाई गर्दा उनीहरु रिसले चुर हुन सक्लान  । र भन्लान् ‘म सानैदेखि राजनीतिमा लागेको छु, जेल गकोछु, योगदान गरेको छु ।’ अनि किन दावा नगर्ने जस्ता तर्कहरु आएका पनि छन् । तर यो तर्कमा त्यति तुक देखिदैन । किनभने बाउको फेरो समात्दै संगै हिड्दैमा योगदान गरेको कुरा मान्ने हो भने राणा शासनमा राणाका छोराहरुले बाउको साथ एकैछिन् पनि छाड्दैन थे । सँधै साथ हुन्थे । त्यसलाई मूल्यांकनको कसिले हेर्ने हो भने राणाहरुको राजनीतिक प्रणाली र कांग्रेस पार्टीको लोकतान्त्रिक समाजवाद भनेको उस्तै भएन र ? वीपी, गणेशमान, महेन्द्र नारायण निधिको छोरा नभएको भए यी सभापतिका आकांक्षी तीन ‘अधिराजकुमार’हरु जिल्लातिरै हल्लिरहका हुन्थे होलान् ।   किनकि उनीहरुको उमेर समूहको नेताहरु अझै पनि जिल्लातिरै हल्लिरहेका छन् ।

सिद्धान्तको उत्तराधिकारी हुन्छ विरासतको हुँदैन । लोकतान्त्रिक पार्टीमा जनता, विचार र सिद्धान्तको कारणले गर्दा गोलबद्ध हुन्छन् । विरासतको कारणले होइन  । विरासतको सम्बन्ध वंश परम्परा हुन्छ भने विचार र सिद्धान्तको सम्बन्ध निश्चित उद्देश्यकाे लागि एकीकृत, संगठित र सृजनशील जमातसंग हुन्छ । त्यसैले यी दुई बीच ठुलो भिन्नता छ । यी दुईबीच सँधै द्वन्द्धात्मक अवस्था हुन्छ । वीपी पुत्र सशांकले सँधै भन्ने गर्छन्–‘मैले मात्र शेर बहादुरलाई हराउनु सक्छु अरुले सक्दैन । शेरबहादुर भन्दा के कारणले गर्दा शशांक अब्बल छन् उनले खुलाउनु पर्थ्यो । विचार र  सिद्दान्त शेरबहादुर भन्दा राम्रो भनेको कहिल्यै सुनिदैन । केवल म मात्रै हराउनु सक्छु भन्दै एकोहोरो भनिएको सुनिन्छ । के यो  उनमा जागेको विरासतको दम्भले होइन ? किन डराउने ? किन विरासतको दास हुने ? बिचरा युवा कांग्रेसहरु विरासतको दासत्व स्वीकार गर्दागर्दै ५० काटिसके । नोकरी खोज्दै हिडेको बेरोजगारको हालत जस्तै छ युवाहरुको । राजनीतिक संघर्षमा घमण्ड, अहंकार र बिरासत सधै  इमान्दारिता सिद्दान्त र विचारसंग पराजित हुन्छ । विश्वको राजनीतिक इतिहाँसमा विरासत सँधै सिद्दान्त र विचारसंग हारेको मात्र घटना  छ ।  

तर अपवादको रुपमा कांग्रेसको राजनीतिमा सिद्धान्त र विचार सँधै पराजित छन्  । जस्तो कि प्रदिप गिरि जस्ता समाजवादका व्याख्याता  आजसम्म पनि केन्द्रीय सदस्य भन्दा माथि पुग्नै सकेका छैनन् । त्यस्तै अर्का समाजवादी विचारक रामचन्द्र पौडेल पनि उस्तै छन् । उनीहरु दुवै जना वैचारिक र सैद्धान्तिक पक्षको आयामेली भए पनि पराजित पात्रहरु हुन् । समाजवादको सफल प्रयोग कृषि क्रान्तिबाट मात्र हुन्छ भन्ने सैद्धान्तिक मान्यता राख्ने पौडेल बिचौलिया र दलाल पूँजीपति वर्गको घेरामा अझै पनि बन्दी छन् । किनकि उनी व्यवहारमा समाजवादी विचारका अनुयायीहरुको संरक्षण गर्न असफल छन् । अर्को कुरा पौडेल जतिसुकै समाजवादी हुन् भने पनि उदारवादी,अवसरवादी र पुँजीवादीहरुको घेरावाट कहिल्यै निस्कन सकेनन् । पौडेल बैचारिक र सैद्धान्तिक रुपमा समाजवादको आयामेली भए पनि राजनीतिक जीवनमा समाजवादका कमाण्डर हुन सफल भएनन् । त्यसकारण उनको समाजवादको सैद्धान्तिक लडाइँ कांग्रेसका लागि र व्यक्तिगत जीवनको लागि ‘कहीं नभाको जात्र हाँडी गाउँमा’ जस्तै भए न र ?’

किनकि न उनले  समाजवादलाई समय सान्दर्भिक ढंगले व्याख्या गर्न सके, न त अबसर पाको बेलामा कार्यान्यवन गर्न नै सके ? हिजोको बासी समाजवादी धारणाको बिरुद्धमा पूँजीवादको हुण्डरी चलेको उनले पत्तो नपाएर हुन् सक्छ कि उनको विचार कुहिरोमा हराएको काग झैँ देखिन्छ । शास्त्रीय विचारबाट ग्रसित दर्शनले पार्टीलाई रुपान्तरण गर्न सकिन्छ भन्ने सोच हाबी भएर नै होला उनले गरेका नेबिसंघ, तरुण दल लगायत मन्त्रिमण्डलमा समानुपातिक सहभागिता सिद्धान्त सहिद र सहिद परिवारको प्रतिनिधित्व जस्ता महत्वपुर्ण लोकतान्त्रिक समाजवादी सिद्दान्तको धज्जी उडेको, पश्चगामी शास्त्रीय, नातावादी र क्षेत्रीयतावादले ग्रसित देखिन्छ । सिद्धान्तमा उनी समाजवादी भनिए पनि ब्यबहारमा समाजवादी नदेखिनु उनको लागि प्रतिउत्पादक सिद्द हुने र सैद्धान्तिक रुपले उनीसँग जोडिएका कार्यकर्ताले छाड्दै जाने हुनाले कालान्तरमा एक्लै पर्ने सम्भावना त्यतिनै छ । जसरी सन्त कृष्ण प्रसाद भट्टराई हुनु पुगे ।

त्यसकारण उनले विरासतको राजनीति गुट भत्काउने सोच राखेकै हो भने बिरासतलाई भत्काउनु बिरासताकै सारथीको साथ लिएर होइन की विचार सिद्दान्त र सम्भावनाको धारलाई अझै धारिलो बनाउनु जरुरी छ । अन्यथा बिरासत र सिद्धान्तको भिडन्तमा संधै उनि पराजित हुन्छन्  समाजवादी र कली युगका रामचन्द्रलाई चेतना हुनुपर्ने हो  । जय नेपाल ।

(लेखकः कांग्रेस नेता हुन्)