२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


ओलीको रोजाइ नेम्वाङ, सापकोटाको पक्षमा दाहाल, राष्ट्रपतिको चाहना तुम्बाहाङफे


0
Shares

काठमाडौं, पुस ११ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख कसलाई बनाउने भन्ने टुंगो नहुँदा शुक्रबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

यही पुस ४ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबारदेखि सभामुख चयनको प्रक्रिया अघि बढाउने सहमति गरेको थियो ।

यसबीचमा नेकपा नेताहरुबीच सभामुखका विषयमा सहमति जुटाउने भनिएको थियो ।

रोजाइ फरक

तर, सभामुखका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको रोजाइ फरक–फरक व्यक्ति भएपछि सभामुख चयनले थप समय लिने भएको हो ।

प्रधानमनत्री ओली पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र अध्यक्ष दाहाल अग्नि सापकोटाको पक्षमा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी भने वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङफेलाई नै सभामुख बनाउने पक्षमा रहेको बुझिएको छ ।

दुई पार्टीको एकताअघि सभामुख माओवादीको भागमा परेको थियो । सोही भागबन्डाको आधारमा अध्यक्ष दाहालले नै सभामुखको उम्मेदवार छनोट गर्न पाउनुपर्ने पूर्वमाओवादीहरुको दाबी रहेको छ ।

बाध्यता

उपसभामुख तुम्बाहाङफेले राजीनामा दिने भनिएपनि उनले पनि अहिलेसम्म पदत्याग गरेकी छैनन् ।

एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने कानुनी व्यवस्था रहेकाले नेकपा सभामुख आफ्नो दलबाट बनाउने र उपसभामुख विपक्षी दललाई दिने तयारीमा रहेको छ ।

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गएको असोज १८ गते राजीनामा दिएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही पुस १६ गतेका लागि डाकिएको छ ।