Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


प्रतिनिधिसभाको बैठक आज बस्दै, नेकपाले सभामुखबारे अझै निर्णय गर्न सकेन, सभामुख चयन प्रक्रिया अघि नबढ्ने सम्भावना


0
Shares

काठमाडौं, पुस ११ । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । यही पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको हो ।

बैठकले निधन भएका केही पूर्वसांसदहरुको शोक प्रस्ताव पारित गर्‍यो । पुस ४ गते संसद बैठकअघि नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने भन्दै गृहकार्यका लागि एक हप्ता संसद् नचलाउने निष्कर्ष निकालेको थियो ।

तर, यो अवधिमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया सुरु गराउने नेकपाको तयारी पूरा हुन सकेन ।

आज बैठक सुरु हुनुअघि उपसभामुखले राजीनामा नगरेमा सभामुख चयन प्रक्रिया अघि नबढ्ने संसद् सचिवालय स्रोतले जनाएको छ ।

एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने कानुनी व्यवस्था भएसँगै नेकपाले सभामुख आफ्नो दलबाट बनाउने र उपसभामुख अन्य दलबाट बनाउने तयारी थालेको छ ।

तर नेकपाभित्रै सभामुख कसलाई बनाउने भन्ने बारेमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले निर्णय गरिनसकेको नेताहरुले बताएका छन् ।

यौन दुराचारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १८ गते राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ ।

उपसभामुख तुम्बाहाम्फेले सभामुख दावी गरेपनि नेकपाले त्यसबारे निर्णय गरिसकेको छैन ।

सभामुखका लागि संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता अग्नी सापकोटाको नाम चर्चामा रहेपनि नेकपाले त्यसबारे आधिकारीक निर्णय भने गरिसकेको छैन ।