Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मन्त्रिपरिषद विस्तार अन्योलमा, आज साँझसम्ममा पूर्णता पाउने दाहालको दाबी


0
Shares

काठमाडौं । राजनीतिक दल विभाजन अध्यादेश र आकर्षक मन्त्रालयको भागवण्डामा कुरा नमिल्दा सरकार विस्तारको विषय अन्योलमा परेको छ ।

सरकार गठन भएको साढे दुई महिना वितिसक्दा पनि सत्तारुढ गठबन्धनमा सहमति जुट्न सकिरहेको छैन । गठबन्धनका शीर्ष नेताहरुबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको थियो ।

दल विभाजन सम्बन्धि अध्यादेशबारे गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको फरक फरक अडानका कारण मन्त्रिपरिषद विस्तारको विषय अन्योलमा परेको हो । तर गठबन्धनबीच केही आकर्षक मन्त्रालयलाई लिएर पनि तानातानको अवस्था रहेको बुझिएको छ ।

बैठकमा संसदमा बजेट पारित गर्ने प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल भएको थियो । बैठकमा छिटो मन्त्रिपरिषदको पूर्णता दिनुपर्छ भन्ने कुरा भए पनि सहमति केही नभएको बताइएको छ ।

उता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । हिजो पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेशका कारण ढिलाई भएको मन्त्रीपरिषदलाई पूर्णता दिने काम विहिबारसम्म सकिने बताउनुभयो । मन्त्रालयका विषयमा गठबन्धनको बैठक बसेर छलफल हुने र मन्त्रिपरिषद् विस्तार हुने उहाँको भनाई छ ।