काठमाडौं । पत्रकार हरिबहादुर थापाले सरकारले दिएको पदक अस्वीकार गर्नुभएको छ । आज समाजिक सञ्जालमा लेख्दै थापाले सुप्रबल जनसेवाश्री पदक अस्वीकार गरेको जानकारी दिनुभयो ।
यसअघिका सरकारले पटक पटक पदकका लागि आफूलाई सोधेको तर यो सरकारले सोध्दै नसोधी नाम राखेको बताउँदै उहाँले पदक नलिने घोषणा गर्नुभएको हो । उहाँले पदकका लागि सरकारलाई धन्यवाद दिनुभएको छ ।
‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु’, उहाँले लेख्नुभएको छ, ‘मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु । राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’
थापा लामो समय कान्तिपुर दैनिकमा आबद्ध हुनुहुन्थ्यो । उहाँ अहिले इकागजको प्रधान सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्