काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनताको कठीन संघर्षको परिणामका रुपमा २०७२ असोज ३ गतेका दिन नेपालको संविधान जारी गरिएको बताउनुभएको छ ।
संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको ६ बर्ष पूरा भएको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै सापकोटाले संविधान नेपाल आमाका महान् छोराछोरीहरुको अदम्य साहस र बलिदानको प्रतिफल भएको बताउनुभयो ।
सापकोटाले आम नागरिकले नयाँ संविधान अनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलहरुको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सम्बद्ध सबैसँग अपिल समेत गर्नुभएको छ ।
‘वर्तमान संविधानमा परम्परागत अभ्यास भन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरिएका छन् । संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र प्रतिबद्धताहरुलाई व्यवहारमा रुपान्तरण गर्नु आजको मुख्य कार्यभार हो’, सापकोटाले भन्नुभयो, ‘संविधानवाद, संवैधानिक नैतिकता तथा लोकतन्त्र गतिशील अवधारणाहरु हुन् । संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा यसको कार्यान्वयनमा सहजता आउने कुरा स्वयम् सिद्ध छ ।’
प्रतिक्रिया दिनुहोस्