प्रकाश नेपाल
इलाम । इलामको कन्याम, अन्तुलगायत थुप्रै पर्यटकीय गन्तव्यले स्वदेश र बिदेशमा निकै चर्चा कमाई सकेका छन् । पर्यटकीय गन्तव्यको जिल्लाको रुपमा आफ्नो चिनारी बनाउँदै गएको इलाममा अहिले इलामेलीहरुले पर्यटकहरुका लागि नयाँ–नयाँ गन्तव्यको खोजि गरी रहेकाछन् । प्राकृतिक भूःबनौट लोभलाग्दो हावापानीले यहाँ आउने जो कोहिलाई लोभ्याउँछ ।
छिनमा घाम लाग्ने घमाईलो हावापानी अनि एकैछिनमा यसरी हावाको तालमा लुकामारी खेल्दै बहने हुस्सुले इलामलाई बिस्तारै छोप्दा यसको रौनक बेग्लै देखिन्छ । डाँडाबाट देखीने सूर्योदयको दृष्यले सबैलाई लोभ्याई रहेको हुन्छ । नयाँ पर्यटकीय गन्तव्यको लागि सूर्योदय नगरपालिकाले यो लोभलाग्दो डाँडामा बुद्धको प्रतिमा निर्माण गरेको छ ।
भारतीय पर्यटकलाई लक्षित गरेर वडा नम्बर – ३ को बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण हुने भएको हो । दार्जिलिङबाट आउने पर्यटकको पहिलो गन्तव्य नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट दुई किलोमिटरको दूरीमा रहेको बौद्धधाममा अहिले भारतीय पर्यटकको चहलपहल पनि बढ्न थालेको छ ।
बुद्धपार्क निर्माणको थालनी मेची पर्यटन प्रवद्र्धन विकास समितिले गरेको हो । देश संघीय संरचनामा गएपछि प्रदेश १ सरकारमा हस्तान्तरण भएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि बजेट बिनियोजन गर्दै आएको छ । सूर्योदय नगरपालिकाले प्रदेशको बजेटमा ३० प्रतिशत थप गरि पार्क निर्माण थालेको नगर प्रमुख रणबहादूर राईले बताउनुभयो ।
१७ रोपनीमा निर्माण भइरहेको पार्क ८ करोड रुपैयाँमा सम्पन्न गर्ने योजना छ । बुद्धपार्कमा प्रदेश सरकार, मेची पहाडी पर्यटन र सूर्योदय नगरपालिकाको गरि ४ करोड रुपैयाँ खर्च भइसकेको छ । बुद्धमूर्तिसहितको पार्क निर्माण भएपछि यो नयाँ गन्तव्य आन्तरिक र बाह्य पर्यटकको हब बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्