२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


असई थमन विकको हत्याका अभियुक्त पक्राउ गर्न अदालतको आदेश


0
Shares

काठमाडौं, साउन १७ । उच्च अदालत जनकपुरले असई थमन विक हत्याका अभियुक्तलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीका नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको इजलासले ‘कानुनको धज्जी नउडाउन’ प्रहरीलाई सचेत गराएको छ ।

सशस्त्र प्रहरीका असई विकको हत्या अभियोग लागेका अभिराम शर्मा प्रदेश २ को सामाजिक विकास राज्यमन्त्री छन् । अर्का अभियुक्त रामशंकर मिश्र (शंकर शाही) जलेश्वर नगरपालिकाका मेयर छन् । शर्मा र मिश्र राजपाबाट निर्वाचित भएका हुन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य कौशल राय मुख्य अभियुक्त छन् । उनी संघीय समाजवादी फोरमका नेता हुन् ।

तेस्रो मधेस आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत विकको ०७२ भदौ २५ गते हत्या भएको थियो । आन्दोलनकारीको आक्रमणमा गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । –कान्तिपुर दैनिकबाट