
काठमाडौं, साउन १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रसँगको सहकार्यमा समावेशी समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन् ।
‘समृद्धि कार्यान्वयनः अन्तर्राष्ट्रिय सहकार्यको भूमिका’ विषयमा नेपाल उद्योग परिसंघ, परिसंघ–प्रबुद्ध परिषद् र भारतको पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले पूर्वाधारका क्षेत्रमा छिमेकी मुलुकसँग सहकार्य गरेर अगाडि बढ्ने पनि बताए ।
अझैपनि संक्रमणकाल नसकिएको भन्दै उनले सुशासनको एजेन्डालाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरीले अबको आर्थिक केन्द्र एसिया हुने भन्दै नेपालले सम्पर्क सन्जालमा ध्यान दिनुपर्ने बताए ।
उनले नेपालले रेलको प्रयोग गरेर व्यापार लागत घटाउनसक्ने बताए ।
कार्यक्रममा भारत–नेपाल सेन्टर स्थापनाका लागि परिसंघ र पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीबीच सहकार्य गर्ने समझदारी पनि गरिएको थियो ।
यस्तै, परिसंघ प्रबुद्ध परिषद्का संयोजक डा. शम्भुराम सिम्खडाले लेखेको ‘नेपाल इन्डिया चाइनाः रिलेसन इन ट्वेन्टी फस्ट सेन्चुरी’ नामक पुस्तक सार्वजनिक पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्