२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


तत्काल पर्यटक आउने व्यवस्था मिलाउन व्यवसायीको माग

अन अराइभल भिसा र क्वारेन्टिनको व्यवस्था सहज बनाउन सुझाव

0
Shares

काठमाडौं । व्यवसायीहरूले तत्काल पर्यटक नेपाल आउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि अन अराइभलको भिसा र क्वारेन्टिन बस्ने प्रावधानलाई सहज बनाउन पर्यटन व्यवसायीहरूले माग गरेका हुन् ।

होटल संघ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरूमा पर्यटकका लागि भिसा दिइरहेको अवस्थमा नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरू भित्र्याउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताउनुभयो ।

पर्यटनको बजार बढाउन ढिला भइसकेको भन्दै शाहले सरकारले कर्मचारीका लागि घोषणा गरेको १० दिनको पर्यटन काज बिदालाई कार्यविधि बनाएर लागू गर्न माग गर्नुभयो । विदेशी पर्यटकलाई एक महिनाको फ्रि भिसा दिँदा पनि पर्यटकको संख्या बढ्ने उहाँको भनाइ छ ।

होटल पबेराका सञ्चालक राधेश्याम थापाले कोरोनाका कहर कम भइरहेकोले अवस्थामा पर्यटन क्षेत्र खोल्दै लैजानुपर्नेमा जोड दिनुभयो । नेपालको सौन्दर्यताको चर्चा विश्वभर नै भएको र महामारी पनि घटेको अवस्थामा पर्यटकको संख्यामा बढ्ने आशा व्यक्त गर्नुभयो ।

पर्यटकका लागि सहजता प्रदान गरे मात्र पनि लाखौं पर्यटन व्यवसायीहरूको जनजीवनमा परिरहेको संकट टर्ने उनीहरूको भनाइ छ । डेढ वर्षदेखि थलिएको पर्यटन तथा होटल व्यवसायलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइदिन पनि व्यवसायीले माग गरेका छन् ।