
काठमाडौं, साउन १६ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपका केही देश नेपालको ऊर्जा र पूर्वाधार निर्माणमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
युरोपेली मुलुक पोर्चुगल, लक्जेमबर्ग र बेल्जियमको साताव्यापी भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले युरोपेली मुलुक नेपालको ऊर्जा, पूर्वाधार र कृषि क्षेत्रमा लगानीका लागि बढी इच्छुक रहेको आफूले पाएको जानकारी दिए ।
आगामी दिनमा युरोपबाट प्रत्यक्ष लगानी बढी नै भित्र्याउनसकिने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको विकास र व्यापारमा युरोप महत्वपूर्ण साझेदार भएकाले नेपालका उत्पादनलाई युरोप प्रवेशमा छुट दिन आग्रह गरेको जानकारी दिए ।
नयाँ सरकारको आर्थिक नीति, लगानीमैत्री वातावरण, समावेशी संविधानकाबारेमा युरोपेली मुलुकले आफूसँग जिज्ञासा राखेको उनले बताए ।
मन्त्री ज्ञवालीले भने–‘नेपाल भारत र चीनको अर्थतन्त्रबाट लाभान्वित हुन खोजिरहेको छ । त्यो आर्थिक साझेदारी र भूराजनीतिक सन्तुलनलाई साथसाथै लिएर नेपाल अघि बढ्न खोजिरहेको विषयमा चासो रहेको मैले पाएँ ।’
नेपालका विमान कम्पनीले आफ्ना सेवा बोइङबाट एअरबसमा रुपान्तरण गरिसक्दासमेत युरोपमा उडान भर्न नपाएर परेको कठिनाइबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले ‘तपाइँकै क्षेत्रमा उत्पादन भएको जहाजले यहीँ उडान भर्न नपाउने यो त मिल्दो कुरा भएन । यसलाई छिटोभन्दा छिटो हटाइदिनोस् भनी आग्रह गरेको’ जानकारी दिए ।
पोर्चुगलका विदेशमन्त्रीसँग भएको प्रतिनिधिमन्डलस्तरको बैठकमा सम्बन्धलाई आगामी दिनमा थप सुदृढ तुल्याउने र सहयोगका क्षेत्र पहिल्याउन परामर्श समयन्त्र बनाउने विषयमा हस्ताक्षर भएको उनले जानकारी दिए ।
छलफलमा मन्त्री ज्ञवालीले त्यहाँ ठूलो संख्यामा रहेका नेपालीको हीतको निम्ति सहकार्यका साथ अघि बढ्नेबारेमा विचार–विमर्श भएको बताए ।
बेल्जियम र लक्जेम्बर्गका आफ्ना समकक्षीसगको वार्ता र छलफलमा लगानी अभिवृद्धि र व्यापार विस्तारका अतिरिक्त अन्तरर्राष्ट्रिय मञ्चमा विकासशील देशको पक्षमा शान्तिका लागि साझा सहकार्य गर्ने विषयमा पनि मन्त्री ज्ञवालीले गहन छलफल गरेको जानकारी दिए ।
विकासन्मुख र भूपरिवेष्टित मुलुकको हीतको पक्षमा विश्वसनीय साथीकारुपमा बहस–पैरवी गर्ने मुलुकमारुपमा बेल्जियम रहेको छ भने सानो भएर पनि प्रतिव्यक्ति धेरै आय हुने दोस्रो मुलुकको कोटीमा लक्जेम्बर्ग पर्दछ ।
युरोप भ्रमणकाक्रममा मन्त्री ज्ञवालीले युरोपेली मुलुकमा रहेका राजदूतलाई परिवर्तित सन्दर्भमा नेपालले अहिले अवलम्बन गरेको आर्थिक विकास र समृद्धिको लक्षयलाई परिपूर्ति गर्न र त्यसलाई सफल तुल्याउन तथा नेपालको छविलाई माथि उकास्ने ढंगले काम गर्न निर्देशन दिएका थिए ।
युरोपियन इस्न्टिच्युट फर एसियन इस्टाटेडिजले आयोजना गरेको छलफलमासमेत भाग लिएका मन्त्री ज्ञावलीले त्यहाँ नेपालले प्राप्त राजनीतिक उपलब्धि र शान्ति कसरी दीगो बनाउने भन्नेबारे लिएको मार्गबारे जानकारी गराएका थिए ।
मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघको युरोपस्तरीय क्षेत्रीय भेलाका सहभागीलाई संविधानले दिएको सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको पूर्णरुपमा उपयोग गर्दै अब सम्पूर्ण ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन सुझाव दिएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्