Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने एमाले नेता विष्णु पौडेलको दाबी


0
Shares

बुटवल, भदौं ३० । नेकपा एमालेका नेता विष्णु पौडेलले माधव नेपालको पार्टीले आगामी निर्वाचनमा एक सीट पनि जित्न नसक्ने मात्र होइन, जमानत पनि जोगाउन नसक्ने भविष्यवाणी गर्नुभएको छ ।

बुटवलमा एमाले रुपन्देहीले आयोजना गरेको कार्यक्रममा नेपाल समूहलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिँदै पौडेल उद्घोषण गर्नुभयो, ‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं । आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन ।’

सैद्धान्तिक र वैचारिक कारण बिना पार्टी विभाजन गरिएको आरोप लगाउँदै पौडेलले भन्नुभयो, ‘२०७४ सालको एमाले विभाजन बरु सिद्धान्तमा आधारित थियो, महाकाली सन्धि लगायत राष्ट्रियताका मुद्दाहरु थिए । तर अहिले कुनै एजेण्डाका आधारमा विभाजन भएको छैन ।’

सर्वोच्चको फैसलापछि तत्कालीन नेकपालाई एकतावद्ध बनाउन खोजेपनि प्रचण्ड, माधव नेपालहरुले पार्टी कब्जा गर्न खोज्दा विभाजनमा पुगेको भन्दै उहाँले थप्नुभयो, ‘जसरी पनि सत्तामा पुग्ने महात्वाकांक्षाले प्रचण्डले माधव नेपालहरु जस्ता स्वार्थी तत्वको साथ लिएर पार्टी कब्जा गर्ने कोशिस गर्दा नेकपामा विभाजन भएको हो ।’

पौडेलले माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन नेकपा एसका कार्यकर्तालाई सुझाव पनि दिनुभयो ।

एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड माधव र कांग्रेसमा नरहेको भन्दै उहाँले आउने चुनावमा फेरि एमाले अघिल्लो चुनावमा झै शक्तिका साथ संसदमा फर्कने घोषणा गर्नुभयो ।

कार्यक्रममा अर्का नेता घनश्याम भुसालले पार्टी विभाजनबाट एमाले घाइते बने पनि फेरि २०७४ सालको चुनावमा झै पार्टीको वर्चस्व फर्काउने दाबी गर्नुभयो ।