काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत त्रिकोणात्मक क्रिकेट श्रृंखलाको दोस्रो खेलमा अहिले नेपालले ओमानसँग खेलिरहेको छ ।
अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गरिरहेको छ । नेपालले पहिलो ओभरको दोस्रो बलमै कुशल भुर्तेललाई बिना कुनै रन गुमाएको छ । कुशल अमेरिकाविरुद्धको खेलमा ८४ रन बनाएर प्लेयर अफ द म्याच भएका थिए । दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका छन् । नेपालको ब्याटिङ्ग लाइन आशिफ शेख र रोहित पौडेलले सम्हालिरहेका छन् ।
सोमबार राति सम्पन्न खेलमा अमेरिकामाथि ५ विकेटको रवाफिलो जित निकालेको नेपाल ओमान विरुद्ध सोही लय दोहो¥याउने अभियानमा छ । विश्वकप लिग २ अन्तर्गत नेपालमा भएको खेलमा ओमानसँग दुवै खेल हारेको नेपाललाई यो खेलमा बदला लिने राम्रो अवसर रहेको छ ।
१० खेलबाट १६ अंक जोडेको ओमान शिर्ष तथा १३ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहँदा ५ खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । सात टिम सहभागी लिग २ क्रिकेटका शीर्ष तीन स्थानमा रहने टोलीले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा भाग लिन पाउनेछन् ।
यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको एक दिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । पपुवा न्यूगिनीलाई दुवै खेलमा हराई अमेरिकालाई समेत पराजित गरेको नेपाल १६ औं बाट १५ औं स्थानमा आएको हो । एसोसिएट राष्ट्रमा नेपालभन्दा अगाडि अब स्कटल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्