५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


तातो दूधको माखो बनेर कतिन्जेल बस्छन् ओलीसँग राजनीतिक ‘दोगला’हरु ?


117
Shares

संजिव कार्की

झट्ट सुन्दा र पढ्दा यो दोगला शब्द अलि तल्लोस्तरको गालीगलौज जस्तो लाग्छ तर यो आरोप गालीगलौज नभएर यथार्थमा आधारित तर्कलाई पुष्टि गर्न जाने बुझेर प्रयोग गरेको शब्दावली हो l राजनीतिक दोगलाको अर्थ राजनीतिक चरित्रको व्यवहार र विचलनको विषय हो l राजनीतिक दोधार र अवसरवादको पृष्ठपोषण गर्ने चरित्रको भण्डाफोर गरेर राजनीतिमा शुद्द्ताको खोजी हो l बिरोध र समर्थन गर्ने हक सबैलाई छ l पार्टी छान्ने र छोड्ने,कसैको बिरोध र समर्थन गर्ने लोकतान्त्रिक अधिकार सबैले जुनसुकै तह र तप्काका राजनीतिक प्राणीको लागि खुला छ l तर दोधारे प्रवृति, अवसरवादिता र यता पनि उता पनि गर्ने व्यवहार ताक परे तिवारी नत्र गोतामे भने झैँ जे पनि गर्ने र हुने निर्लज्ज चेष्टा देखेर तिनको विपक्षमा तिनका नालायकिमा लेख्नु बोल्नु आम मान्छेको कर्तव्य हो l तसर्थ आज नेकपा एमाले भित्रका दोगलाहरुको भूमिका र असंगत पक्षको खुलासा यो लेखनको अभीष्ट राखेको छु l

सामान्य मान्छेको दोधारेपन र नालायकीको असर व्यक्तिगत र पारिवारिक र थोरै सामाजिक हुन्छ तर राज्यको उपल्लो ओहोदामा पुगेका र भोलि पनि पुग्ने सम्भावना उत्तिकै रहेका व्यक्ति समुह र उच्च पदस्तको दोधारेपन निर्णय क्षमताको अभावमा त्यसको क्षति ऊ सम्बन्धित पार्टीको दयारा भन्दा पर पुगेर देसको क्षति र क्षयमा रुपान्तरण हुनजान्छ अत: यस्ता प्रवृति र पात्र बारे जानकार हुनु र जानकारी दिनु सर्वथा अनुचित होइन l

२०७५ जेठ ३ मा एकीकृत नेकपा र नेकपा एमाले यस्तै गलत प्रवृति र पात्रको कारण फुटेर छिन्नभिन्न छ l पार्टी फुट्नु अर्को पार्टी गठन गर्नु बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा अनौठो मानिन्न तर जे कारणले फुट्नु र जसको कारणले फुट्नु पर्ने हो त्यो कारण र प्रवृति पार्टीलाई फुटको डिलबाट हुत्याएर आफू पार्टी फूटको पक्षमा होइन छैन भन्ने तर्क गर्दै पुरानै पार्टीमा बस्नु र केही मान्छेहरुलाई अर्को पार्टी गठन गर्ने आधार खडा गरिदिनु कति सम्म नैतिक र इमानदार कुरा हो ? राजनीतिमा नैतिकता बर्जित नै हो र ? मूल प्रश्न यही हो ? असहमति र असमझदारी व्यवस्थापन गर्न नसकिने हदमा पुगेर नेकपा एमाले बिभाजन भएको कुरा कति र कसरी छर्लंग हुनुपर्ने हो त्यो भएकै छ l विवाद असमझदारीका अनेकन शृंङ्खला झेलेर, त्यसको कुशल व्यवस्थापनकला गुमाएर नेकपा एमाले दुई पार्टीको रुपमा स्थापित छ l नेकपा समाजवादी बनाउन कसले कति भूमिका खेले र आज उनीहरु किन ओलीसँग आत्मसमर्पण गर्न पुगे ? आत्मसमर्पण गरेपछि हर आत्मसमर्पणकारीको हालत, हर ठाउँमा कस्तो हुन्छ ? पूर्व बिरोधी समुहसँग उनीहरुले बोक्ने मुद्दा र समाउने लाइनसँग अन्तर घुलन हुन कति समस्या पर्छ ? हाल नेकपा एमालेले संसद अवरुद्द गरेर गैर संसदलाई निषेध भन्दा घनश्याम, सुरेन्द्र, योगेश, लगायतलाई कति असहज छ ? हिजो ओली बर्खास्त गर्न सँगै हस्ताक्षर गरेर रास्ट्रपति कार्यालय देखि अदालतमा लाइन लागेको र ओलीलाई पार्टीबाट निकालेको घोषणासँगै गरेका पूर्व नेता सहकर्मी अनुजहरुलाई आज संसदमा निषेधित गर्न नारा लगाउनु र बिरोधमा उभिनु पर्दाको निरीहता र झिनो स्वरमा पार्टीको नीतिको वकालत देख्दा देख्नेलाई समेत सहजानुभूति हुदैन भने स्वयं भोक्ताको स्थिति कति टिठ लाग्दो छ ?  नेकपा एमालेको घोषित नीति अनुसार संसदमा हंगामा गर्ने कि ? आफ्ना पूर्व सहकर्मी जसलाई उचालेर भिरमा पुर्याउने हात र साथ आफ्नो पनि थियो तिनका बिरुद्द चर्को नाराबाजी गर्नु ? कति असहज र नैतिक प्रश्न छ ? मन मिल्नु र गला मिल्नुमा कति दुरी हुन्छ त्यसको उदाहरण हो संसदमा भीम रावलहरुको निस्कृयता ?

साक्रिय हुन् र निष्क्रिय रहन दुवै असहज र अनैतिक हुन्छ l धर्म संकटको अर्को बेजोड नमुना हुनसक्छ यतिबेला माधवलाई धोका दिएर ओलीसँग जाने अनि संसदमा रमिते बन्नेहरुको रमिता l यो अलमल दोधार र अन्यमष्क स्थितिमा काम गर्न कतिन्जेल सकिन्छ ? घनश्याम कमरेड कै शब्द सापटीमा भन्दा ब्रेन ट्युमरको बिरामीलाई चमेलीको तेल टाउकोमा दलेर कतिन्जेल बाँच्छ बिरामी ? एमालेमै बसेर पचाउने पनि के के ? इमान पचाउनु पर्यो नैतिकता चपाउनु पर्यो, चरित्रमा धब्बा पोत्नु पर्यो l राजनीतिको तरमारा प्रवृतिको मुल्य स्खलित पात्रको रुपमा यी छेपारे प्रवृति रहुन्जेल एमालेमा राजनीतिक शुद्द्ताको खोजी प्रयोजनहीन हुन्छ, निरर्थक र व्यर्थ रहन्छ l तर दुधको माखो मिल्काए झैँ ओलीले यी पछि छिरेका ओलीलाई भुइँमा लतारेर निर्लज्ज भएर पसेका केही भाइ छेपारेहरुको हिसाबकिताब चुक्ता गर्नेछन् l कथं आफ्नो जीवनकालमा सम्भव भएन भने आफ्ना भक्त मार्फत झिंगामा परेको माखो बनाउने निश्चित छ l

मानवीय सम्बन्ध प्रवृति र अहंकारमा यो अस्वाभाविक होइन पनि l कमरेड ओलीलाई सत्ताको सिंहासानबाट पछारेर रोडसम्म बालुवाटारको सरकारी आवासबाट बालकोटको चिसो छिंडी सम्म पुर्याउन भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईहरुको योगदान र भूमिका छैन भनेर बुझियो भने बुझाइमा खोट रहन्छ तसर्थ ओलीले आफ्नो कित्तामा सदैव सतिसाल र ढाल बनेर उभिनेलाई पर राखेर गोकर्ण विष्ट, रघु पन्त, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली लगायतलाई शतप्रतिशत विश्वास नगर्नु मानवीय स्वभाव हो l एमालेका भक्तजनले अन्यथा नलिने हो भने माधव खेमा त्यागेर अन्तिम अन्तिम दिनमा दैलोबाट लजाउदै, धकाउदै छिरेका धोकेवाज कमरेडहरूलाई यति छिटो जिम्वेवारी दिनु र विश्वास गर्नु युक्तिसंगत हुँदैन l ओलीको इमानमा रहनेले यिनलाई दिने जिम्मेवारी खोस्न र नदिन प्रयत्न गर्नुपर्छ l

झन् दोधारे मन गरेर यता नभए उता जान्छु भन्नेहरुलाई नेकपा यसले पनि रातो कार्पेट विच्छाएर स्वागत गर्नु अवसरवादलाई प्रोत्साहन दिनु र धोकेवाजलाई पालित पोषित गर्नु ठहर्छ l चुनाव जित्ने र ओलीको भन्दा ठुलो पार्टी बनाउने सपनाले मात्र द्वैद चरित्र प्रदर्शन गर्ने र धोका दिनेलाई पार्टीले ढोका खोल्नु भनेको अरु हजारौ इमान्दार कार्यकर्ताको अवमुल्यन गर्नु हुनेछ l ओलीले घोक्र्याएर माधवले पनि गेटबाट छिर्न नदिएर यी बिचौलिया र दलाली गर्ने दोगलाहरुलाई बेघरबार बनाइदिनु मनासिब हुन्छ l अवसरवाद दोधारे र छेपारे प्रवृति र पात्रलाई राजनीतिमा वल्लोघाट न पल्लो तिरको नबनाए सम्म अन्यत्र पनि अरु पार्टीमा पनि यस्ता गलत तत्वले फाइदा लिने र अवसरवादि बनेर खेली रहने मौका पाउनेछन् l राजनीतिमा दोगला चरित्र अन्त्यको लागि यस्ताको उठिबास हुनु अत्यन्तै जरुरी छ l

आफ्नो घरमा आगो लगाएर छिमेकीको करेसामा खरानी दिनेकाम कति तार्किक छ त्यो काम गरेर किन फेरि ओलीकै दैलोमा लम्पसार गर्न जानु भयो ? नेकपा एमाले फुटाउन सभामुखको भूमिका छ भन्ने नेकपा एमालेका नेताहरुलाई आफ्नो भूमिका र ओलीलाई सडकमा ल्याइपुर्याउने योगदानको बारे निकट विगत फर्केर हेरे रैती हास्ने गरि बोल्नुपर्ने थिएन कि ? ओलीलाई बेइमान गर्नेले ओलीले इमान्दारिता देखाएनन् भन्ने हक कति छ ? १० भैयाको दस बुँदे समझदारी पत्र तत्काललाई लाज ढाक्ने वस्त्र थियो त्यो झुकाउने रणनीतिको रुपमा एकले अर्कालाई थापेको पासो मात्रै हो l त्यो पूर्णतया कार्यान्वयन हुदैन र नहुने संकेत ओलीले देखाइसकेका छन् l क्षणिक प्रयोजनको लागि ओलीले स्वीकार गरेका हुन् अब त्यो डस्टबिनको फोहोर हो l अब अर्को पार्टी रोजेर निर्वाचित पद जोगाउने अवसर पनि सकिएको कारण ओलीले अब पेल्ने छन्, धोकाको बदला लिने छन् l कसैलाई अलिचाँडो, कसैलाई अलि ढिलो होला ओलीले आफू बिरुद्ध घात गर्नेलाई सहृदयी बनेर छोड्ने छैनन् l हुत्याउदै पेल्दै घचेटेर जहाँ पुर्याउने हो त्यहाँ पुर्याउछन् l मन्द विस हालिदिएर आत्महत्या रोज्न बाध्य बनाउने छन् l मान्छेलाई कसरी सिद्द्याउनु पर्छ र भित्तामा पुर्याउनु पर्छ ओलीलाई थाहा छ l

राधाकृष्ण मैनाली ,मोहन चन्द्र अधिकारी र प्रदीप नेपाललाई ओलीको बारे र उनले गर्ने गतिबिधि बदला लिने तरिका भरपुर थाहा छ l बदला लिन पार्टीको महाधिवेसन देखि बिभिन्न तहका निर्वाचन सम्मका स्थानहरु रोजिने र हिसाब किताब हुनेछन् l धोका दिनेलाई धोकाको स्वाद धोका दिएर नै चखाउने ओलीको विशेष क्षमता अरु मुखरित बन्नेछ l

पार्टीहरु अझ जीवन्त र चलायमान शक्तिमा राजनीतिक असहमति, असमझदारी सत्ता र शक्तिको छिनाझपटी हुन सक्छन् तर कहिल्यै मिल्नु नपर्ने र कुनै बिन्दुमा भेट नहुने झैँ गरेर बिरोध र प्रतिवाद गर्नेशैली हुदैनथ्यो भने आज योगेश, भीम र घनश्यामहरुलाई आफ्नो भाषणको क्लिप ओलीसँगै उनका भक्तसँग र सर्वसाधारणसँग बसेर सुन्दा मुन्टो लुकाउनु पर्ने स्थिति बन्दैनथ्यो l तसर्थ कसैलाई पनि संधैलाई निषेध र मिलन बिन्दुको रेखा मेटेर बोल्ने र ब्यबहार गर्ने काम रोक्नु र छोड्नु पर्छ l यो सबैको लागि मनन योग्य विषय हो l फूटको संघारमा पुगेको विवेकशील साझा र निकट भविष्यमा फुट्न सक्ने सम्भावित पार्टी कांग्रेसले लेसन लिनु बेठिक हुने छैन l पार्टी भित्रका आन्तरिक प्रतिपक्षीको बिरोध गर्दा अपनाउनु पर्ने संयमता धैर्यता र अनुशासन पालन गरियो भने भोलिसँगै बस्दा र काम गर्दा असजिलो लाग्दैन l अन्तरघुलनको समस्या हुदैन l