१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बाइसधारा सडक कन्तबिजोग (भिडियो रिपोर्ट)


0
Shares

सुशनसर्जन रामदाम/सुयेश मानन्धर (इमेज)

काठमाडौं, साउन १६ । काठमाडौं वडा नम्बर–१६ स्थित बाइसधारा–बाइपासदेखिको करिब १५० मिटर बाटोको कन्तबिजोग हुँदा स्थानीयवासीले हैरानी खेप्नुपरेको छ ।

सडक विस्तारकाक्रममा सडकछेउका घर भत्काएको लामो समय बितिसक्दा पनि बाटो बन्न सकेको छैन ।

नुवाकोट जाने पासाङल्हामु राजमार्गसँग जोडिने सडकको ‘घाँटी’कारुपमा रहेको बाइसधारा–बाइपास जोड्ने सडकखन्ड विवादका कारण बिजोग अवस्थामा छ ।

पाँच वर्षदेखि बाटो बिजोग अवस्थामा रहँदा त्यसको प्रत्यक्ष मार स्थानीय वासिन्दामाथि परेको छ । यो बाटो भएर चल्ने सवारी–साधनहरुले पनि सास्ती भोग्दै आएका छन् ।

विगतमा निकै चहल–पहल हुने बाइपासछेउका घरहरु भत्किएपछि र बाटोको अवस्था खराब भएका कारण ग्राहकहरुसमेत पसलमा आउन छाडेको, व्यापार खस्केको व्यवसायीहरुको भनाइ रहेको छ ।

भत्काइएको कतिपय घरहरुले मुआब्जा पाएका छन् भने कतिपयले केही नदिइकन घर भत्काइदिएर बिजोग बनाइदिएको गुनासो गरेका छन् ।

राणाकालीन समयदेखि भोगचलन गर्दै आइरहेको र तिरो तिरेको जग्गासमेत मिचेर उठिबास बनाइएको उनीहरुको भनाइ छ ।

सडकछेउका वासीले दुवैतर्फ ७–७ मिटर नापेर बाटो कायम गरिनुपर्ने माग गरेका छन् ।

सर्वोच्च अदालतले पनि वि.सं. २०७३ साल चैत ८ गते गरेको फैसलामा निषेधाज्ञा जारी गर्दा बाटो निर्माणको काम रोकिन पुगेको छ ।

पासाङल्हामु राजमार्गसँग जोडिएको मुख्य नाका निर्माण राष्ट्रिय समस्याकारुपमा उत्पन्न भएकाले यसलाई केन्द्रीयतहबाट नै हल गरिनुपर्ने काठमाडौं वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालले बताए ।

सडकको दुरावस्थाले ऐतिहासिक बाइसधाराको शोभायमानलाई गिज्याइरहेकोमात्र छैन, धुवाँ, धुलो र हिलोले सबै आजित बनेको अवस्था छ ।

भिडियो हेर्नुहोस्