हेटौंडा । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको उपनेतामा कृष्ण प्रसाद खनाल चयन हुनुभएको छ ।
सोमबार हेटौंडास्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले खनाललाई दलको उपनेतामा चयन गरेको हो । आइतबार बसेको बैठकले दलको नेतामा राजेन्द्र प्रसाद पाण्डेलाई सर्वसम्मत रूपमा चयन गरेको थियो । बैठकले दलको प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मतले चयन गरेको दलका नेता पाण्डेले बताउनुभयो ।
त्यस्तै, बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका नेता पाण्डेलाई दिइएको छ ।
त्यसैगरी तीन दलको सरकार निर्माण भएपश्चात सरकारको तर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न प्रदेशसभा सदस्यहरू माधवप्रसाद पौडेल, बसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिइएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
त्यस्तै, ५६ प्रदेशसभा सदस्य रहेको बागमतीमा १३ जना नेकपा एकीकृत समाजवादीका सांसदहरू रहेको हुनाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाइसकेको र अल्पमतमा परेको जनाइएको छ । मुख्यमन्त्री शाक्यलाई नेकपा एसले समर्थन नगरेको भनि निर्णयानुसार प्रदेश सभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाइसकेको पनि नेता पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्