अक्कल कुँवर
काठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रामक बन्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । सभामुखविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मिल्ने कानूनी प्रक्रिया छोडेर एमाले संसदीय मर्यादा र नियम विपरीतका गतिविधिमा किन उत्रियो ? सर्वत्र चासोको विषय बनेको छ ।
नेकपा एमालेलाई फुटाउन भूमिका खेलेको आरोप लगाउँदै नेकपा एमालेले यथास्थितिमा सभामुखलाई स्वीकार गरेर जान नसक्ने भन्दै लगातार सदन अबरुद्ध गरिरहेको छ । सदन अवरुद्धको आगोमा घिउ बनेर थपिएको अर्को एजेण्डा हो– बजेट प्रतिस्थापन विधेयक । यी दुई विषयलाई लिएर प्रतिपक्षी एमाले सभामुखको पटक–पटकको आग्रह लत्याउँदै निरन्तर संसद ठप्प बनाइरहेको छ । संसद अवरुद्धका क्रममा एमाले सांसद प्रतिनिधिसभा नियमावली विपरितका नाराबाजी गरेका मात्र छैनन् अर्मयादित ढंगले प्रस्तुत भईरहेका छन् । एमालेका एकजना सांसदले त सार्वजनिक रुपमै सभामुखमाथी आक्रमण गर्ने चेतावनी दिएकी छन् । पूर्वसांसद लक्ष्मणप्रसाद घिमिरेले संसद अबरुद्ध गर्ने एमालेको शैली दुःखद भएको टिप्पणी गर्नुहुन्छ ।
आफ्नो पार्टीले कारवाही गरेको १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सभामुखसंग बदला लिने दाउमा छ । त्यसकारण उसले सभामुखको भूमिका माथी प्रश्न गर्दै यथास्थितिमा सभामुखलाई स्वीकार नगर्ने अडानमा छ । पूर्वसांसद घिमिरे सभामुखलाई अस्वीकार गर्न नमिल्ने तर चित्त नबुझे प्रक्रियामा हटाउने व्यवस्था स्पष्ट नै रहेको बताउनुहुन्छ ।
हुन त प्रतिपक्ष दलको नेतृत्वलाई वर्तमान संसदप्रति सकारात्मक धारणा नरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने सार्वजनिक भाषणबाट नै स्पष्ट हुन्छ । दुई पटक संसद विघटन गर्नुभएका ओलीको रुचि अझैपनि मध्यावधि चुनावमा छ । संसदप्रतिको प्रतिशोधको भावना अनुसार नै एमाले संसदमा प्रस्तुत भईरहेको पूर्वसांसद घिमिरेको जिकिर छ ।
सरकारको अनिच्छाको कारण अघिल्लो संसद अधिवेशन काम विहिन भएको थियो । चालु अधिवेशनमा सरकारले पर्याप्त काम गर्ने दावी गरेपनि विपक्षी दलको अवरोधले संसद अघि बढ्न सकेको छैन् । कहिले सरकार त कहिले विपक्षी दलको बक्रदृष्टिले जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसद निकम्मा बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्