२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


देश ‘लेण्ड लक्ड’ नेता ‘माइण्ड लक्ड’


0
Shares

पेशल आचार्य
जुन देशमा आर्थिक वर्ष २०७७/०७८ को बेरूजु मात्र ४ खर्ब १६ अरब देखाउँछ महालेखाले । यो भनेको वार्षिक बजेटको २५ प्रतिशत बेरूजु रकम हो । सरकारी रकम खर्च गर्नका लागि कानुनी प्रक्रिया नपुर्‍याइकन गरिएको खर्च नै बेरूजु हो । जुन देशको वैदेशिक व्यापार निर्याततर्फ १३ प्रतिशत र आयाततर्फ ८७ प्रतिशत वार्षिक रुपमा भएको तथ्याङ्कले देखाउँछ ।

जुन देशबाट कामका खोजीमा हरेक दिन १५ सयदेखि १८ सय युवायुवती खाडी, मध्यपूर्व, जापान, कोरिया र मलेसिया जान्छन् । जुन देशमा वार्षिक १४ अरबको खाद्यान्न आयात गरिन्छ । त्यो देश भ्रष्टाचारमा घाँटीघाँटी डुबेको, घाटा बजेटमा रहेको, कर्मठ युवाशक्ति विदेश पलायन भएको र खाद्यान्न समेत आयात भएको देखिन्छ त्यो देश कस्तो छ भनेर स्वतः थाहा भइहाल्छ ।

पञ्चायत कालमा राजनीति गर्ने प्रायः सबै पञ्चहरु या बहुदलमा आस्था राख्ने नेताहरुमा समेत राजाको डर थियो । राजा राष्ट्रिय एकताका प्रतीकका रूपमा लिइन्थे । प्रजाहरुमा इमान, जमान, पाप, धर्म, कर्तव्य, अधिकार र चेतनाका कुराहरु आ-आफ्ना ठाउँमा ठिक थिए । जनतामा चेतना हुने कुरामा चेतना थियो बद्लामा नहुने उत्तेजना थिएन । तैपनि त्यो पञ्चायतलाई सन् १९९० को दशकका युरोप र एसियामा चलेका प्रजातन्त्रको आन्दोलनका लहरले व्यापक छोयो फलतः पञ्चायत गयो बहुदल आयो ।

नेपाल भूपरिवेष्ठित मुलुक हो । एसियामा नेपालसहित ५ देशहरु भूरिवेष्ठित छन् । ती सबै देशहरुको चौतर्फी अवस्था नेपालको भन्दा गतिलो छ । अरू त अरू भुटानको समेत प्रतिव्यक्ति आय नेपालको भन्दा गतिलो छ । विकास र निर्माण त्यहाँ दरोसँग भएको छ । कोरोना महामारीमा भुटानले नेपाललाई जापनीज खोप अष्ट्राजेनेका सहयोग गर्‍यो । ऊ अहिले सत प्रतिशत जनतामा कोरोना खोप लगाउन सफल भैसकेको छ । हामीले एक तिहाई जनतालाई पनि दिन सकेका छैनौं । हामीभन्दा तल अफगानिस्तान छ । जहाँ भर्खरै विद्रोही शक्ति तालिवानले सत्ता कब्जा गरेको छ । हिजो अमेरिका प्रबद्र्धित शासनले पल्टा खायो । शिक्षा, स्वास्थ्य, बैँङ्किङ् प्रणाली र शान्ति सुरक्षाका सबालमा अहिले त्यहाँ डामाडोलको स्थिति छ ।

नेपाल देश गरिब होइन यहाँका नेताहरु भीखमङ्गा भए । नेपाल प्रकृतिले दिएको तर नेताले बिगारेको देश हो । सबै पार्टीका युवाहरु आफ्नो पार्टीका नेताहरुका हनुमानगिरी गरेर बाँच्न चाहन्छन् । विद्रोह, शुद्धीकरण या बगावत गर्ने सोच, फुर्सद् र चाहना कसैमा भएको देखिँदैन । बहुदलीय सिष्टम देशमा आएको तीन दसक भैसक्यो । हामी ३० वर्षे पञ्चायती व्यवस्था भनेर अझै गाली गदैर्छौं तर अहिलेको मल्टी पार्टी डिमोक्रेसी आएको समेत करिब साढे तीनदसक हुनै लाग्यो । अझ राजनीतिक संस्कार र शुद्धीकरणमा नेताहरु चुकेकै छन् ।

तलुवा चाट्ने सोचका कार्यकर्ताहरुको भीडमा रामकुमारी झाँक्रीले माधव नेपालको कोटको बाहुला तानेर घिस्याउँदै निर्वाचन आयोगभित्र लगेको फोटो केही हप्ताअघि भाइरल भयो । सो फोटोले उद्बोधन गर्न खोजेको कुरा भनेको युवा पुस्ताले अब बूढो पुस्तालाई डोहोर्‍याउनु पर्छ भन्ने हो ।
अहिले काँग्रेसको १४ औं महाधिवेशनको माहोल तातेको छ । केन्द्रीय महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल यी तीन जनाको उमेद्वारी घोषणै भसेकेको छ । दुईजना जित्छन् र एकजना हार्छन् यो निश्चित छ तर जो जिते पनि युवाहरुको वर्चश्व रहने देखियो । हो यसैगरी अब ‘गाई ओगट्ने बूढो पुस्तालाई युवा पुस्ताले छेउ लगाउँदै जानु पर्छ ।’ भन्न खोजेको कुरा युवालाई काम र बूढालाई आराम हो ।

जनता समाजवादीका केन्द्रीय सदस्य तथा लेखक डम्बर खतिवडा एमसिसीबारे खरो पारामा आफ्नो फेसबुकमा लेख्छन् –‘माओवादी कमरेडहरुले एमसिसीबारे बोल्दा यी तथ्य सम्झिन जरूरी छ । एमसिसीको प्रक्रिया प्रम बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुन हुँदा २०६८ माघ ५ मा शुरू र प्रम प्रचण्ड, अर्थमन्त्री महरा हुँदा २०७४ जेठ १८ मा प्रथम वार्ता कमिटी गठन भएको थियो । २०७४ भदौ २९ गते प्रम देउवा र अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले अन्तिम रूप दिए । ओली संयोगिक पात्र मात्रै हुन्, यो प्रक्रियामा ओलीको खासै भूमिका र योगदान छैन । आफूले गरेको कामको खुलेयाम जस लिनुको साटो हल्लाबाट डराउने र पन्छिने माओवादी तरिका सुतरमुर्गी प्रवृत्ति मात्रै हो ।’

केही बुँदा संशोधन गरेर मात्र एमसिसी पास गर्ने भन्ने माओवादीको भर्सनले यहाँ हो पनि र होइन पनि भन्ने भान पार्‍यो । कि त एमालेजस्तो प्रतिपक्षमा हुँदा हुन्न भन्नुपर्‍यो कि काँग्रेसजस्तो चुप लागेर तुम् शरणम् गर्नु पर्‍यो । ७२ अरबको एनसेलको लाभकर लिन नसक्ने ‘नपुङ्शक राज्य प्रणाली’ मा ५५ अरबको सहयोग आउँदैमा कोकोहोलो गरेर लिनेतर्फ जुन तौर तरिकाले अहिले नेपाली नेताहरु लम्पसार परेका छन् त्यो गतिलो भविष्यको द्योतन पक्कै होइन ।

उनी अझअघि लेख्छन् –‘कम्युनिष्टहरुको एउटा पंक्तिले माधव नेपाललाई दिनहूँ तल्लो स्तरको गाली गरेको सुन्दा लाग्छ यो जातै कृतघ्न हो । गणेशमान र किसुनजीले काँग्रेस परित्याग गरेर मरे तर पनि काँग्रेसीहरु उनीहरुका फोटा पूजा गर्छन् । जसपा पनि फुटेकै हो, महन्थ ठाकुरलाई कसैले त्यो स्तरको गाली गरेका छैनन् । कोके धारको संस्थापक र करिब १५ वर्ष नेतृत्व गरेका नेतालाई त्यो स्तरको गाली गर्न सक्नेहरुको हृदयमा कसप्रति सम्मानभाव होला ? जसले बनाएको पार्टी कब्ला गरेर फुइँफुइँ गर्नुछ, उसैलाई यत्रो अपमान गर्ने आन्दालेनको साँस्कृतिक चेतनास्तर नै कति र कस्तो होला ?’

‘अमेरिकी आँखाबाट हेर्दा बिआरआई गलत देखिएला । चीनको आँखाबाट हेर्दा एमसिसी गलत देखिएला । भारतका आँखाबाट हेर्दा दुवै गलत देखिएलान् । हामीले नेपालको आँखाबाट हेर्ने न हो । अमेरिकी एमसिसी, चिनीयाँ बिआरआई वा भारतीय कुनै परियोजना यदि नेपालका हितमा छन् भने हामीले अरू कुनै कुराको मतलब गर्नु हुँदैन । हामी संसारको ठेक्का लिन सक्ने हैसियतका राष्ट्र हैनौ । जटिल भूराजनीतिको बीचबाट छिरेर नेपालको विकास गर्नु हाम्रो दायित्व हो ।’ यति चुस्त विश्लेषण गर्ने खतिवडाले देशलाई ‘लेण्ड लक्ड’ र नेतालाई ‘माइण्ड लक्ड’ भन्ने आशयको व्यङ्ग्य गरेका हुन् । नेताले बुझे पो ?