
गोरखा, पुस ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल–भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् ।
गोरखा नगरपालिका–४, पिपलथोकमा निर्माण गरिएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्णकदको सालिकको शनिबार अनावरण गर्दै उनले नेपालले कसैको भूमिमाथि आँखा नलगाउने र नेपालको भूमिमाथि पनि कसैले थिचोमिचो गरेको मान्य नहुने बताए ।
‘हामी कसैको भूमिमाथि पनि आँखा लगाउँदैनौं । हाम्रो भूमिमाथि पनि थिचोमिचो नहोस् । हाम्रो भूमिमाथि गलत ढंगबाट आँखा नलगाइयोस्’–मन्त्री भट्टराईले भने–‘भारतले नेपालको भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि सरकारले वार्ता र संवादमार्फत् विवाद समाधानका लागि प्रयत्न गरिरहेको छ ।’
‘नेपाल गौतमबुद्ध जन्मिएको भूमि हो । यहाँ युद्ध, अशान्ति र झगडाको गुन्जायस छैन’–उनले भने–‘हामी आपसी समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न तत्पर छौं ।’ रासस
प्रतिक्रिया दिनुहोस्