खिलनाथ ताजपुरीया
काठमाडौं, भदौ २४ । संसदभित्रै सभामुख अग्निप्रसाद सापकोटा मुर्दावादको नारा घन्काएको प्रमुख विपक्षी दल नेकपा एमाले अझै संसद अवरोध जारी राख्ने रणनीतिमा छ । बुधबार संसद बैठकमा हंगामा मच्चाएको एमाले शुक्रबार बस्ने संसद बैठकमा पनि त्यही रुपमा उत्रने सम्भावना देखिन्छ ।
संघीय संसदको संयुक्त अधिवेशन प्रारम्भ हुनसाथ प्रमुख प्रतिपक्ष एमालेले सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा बुधबार सदन अवरुद्ध गरेपछि सभामुख अग्नी सापकोटा र एमालेबीचको टकराव सतहमै आएको छ । एमाले सांसदहरु जति आक्रामक देखिए त्यो भन्दा कम आक्रामक सभामुख सापकोटा पनि देखिनुभयो ।
संसदमा चलेको होहल्ला र दोहोरीलाई प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाले टुलुटुलु हेरिरहनु भयो । द्धन्द्ध कम गर्न कुनै भूमिका खेलेको देखिएन ।
सभामुख सापकोटाले एमाले विभाजन गर्न कारबाही गरिएका १४ सांसदलाई जोगाएको एमाले आरोपको सभामुखले प्रतिवाद गरिसक्नु भएको छ । प्रचलित कानून बमोजिम निर्णय लिएको सभामुखको जवाफले एमाले सम्हालिने अवस्थामा छैन ।
एमाले त्यस्तो दल हो जस्ले २०५७ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग्दै ५६ दिनसम्म प्रतिनिधि सभा अवरोध गरिरह्यो । एमालेको यो जब्बर शैली अहिले पनि कायम देखिन्छ ।
यस पटक सरकार नभई विधायीकाकै प्रमुख सभामुख तारो बन्नु भएको छ । अन्य पक्षसँग द्धन्द्ध हुँदा सभामुखले मध्यस्थता गरेर समाधान खोज्ने विकल्प हुन सक्थ्यो । यस पटक सभामुखसँगकै टकरावमा उत्रिएको एमालेले अब संसदमा चाल्ने कदमले राजनीतिलाई कुन दिशा दिने भन्ने सन्देश प्रवाह गर्ने छ ।
एमालेले संसद संचालनमा प्रतिपक्षी दलको भूमिका पनि रहन्छ भन्ने यथार्थता बिर्सनु हुँदैन ।
प्रतिक्रिया दिनुहोस्