
काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले सभामुखविरुद्ध नाराबाजी गरेका कारण बुधबार सुरु भएको प्रतिनिधिसभाको बैठक चल्न सकेन। अपराह्न ४ बजे बोलाइएको बैठक सुरु भएपछि एमाले सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै चल्न नदिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले सहमति खोज्न प्रयास गरे पनि एमाले सांसदले अवरोध खडा गरिरहेकाले २५ गतेसम्म बैठक स्थगित भएको घोषणा गरे।
एमाले सांसदको नाराबाजी र होहल्लाबीच पनि बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रस्तुत गरे। एउटा अध्यादेशमात्रै पेस गर्ने र अन्य अध्यादेश स्वीकृत गर्ने कार्यसूचि थियो। होहल्लाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्ने काममात्रै भयो। सभामुखले कार्यसूचिमा रहेका अन्य सबै विषय हटाएर तेस्रोपटक बसेको बैठक स्थगित गरेका हुन्। सभामुख सापकोटाविरुद्ध एमाले सांसदले नाराबाजी गर्ने निर्णय एमाले संसदीय दलको बैठकले गरेको थियो। त्यसका लागि सत्तापक्षका सांसद पनि सचेत भएर बसेका थिए।
एमालेका सांसदले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पठाएको पत्र कार्यान्वयन नगरेको भन्दै सभामुखविरुद्ध नाराबाजी गरेका हुन्। तटस्थ हुनुपर्ने कुर्सीमा बसेर एमाले फुटाउन सहयोग पुग्ने काम गरेको र अन्य पार्टीको मतियार भएको भन्दै एमाले सांसदले सभामुखअघिको बेल सामुन्ने गएर नाराबाजी गरेका थिए। त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ९ख० र ९घ० तर्फ ध्यानाकर्षण गराएका थिए।
नियमावलीको खण्ड ९ख० मा सभामुखले पदअनुकूल आचरण गरेका छैनन् भन्ने प्रस्तावको छलफलका क्रममा बाहेक उनको आलोचना गर्न नहुने व्यवस्था छ। त्यस्तै खण्ड ९घ० मा अदालतलमा विचाराधीन मुद्दामा बहस गर्न नहुने भन्दै बन्देज लगाइएको छ। एमालेले पदमुक्त गर्न भनेका १४ जना सांसदको विषयमा परेको मुद्दा अदालतमा विचाराधीन छ।
सभामुख सापकोटाले पहिलो बैठकमा पटकपटक नियमावलीको २१ ९ख० र ९घ० को कुरा जोडी संविधान, कानुन, निमय पनि छ भन्दै नाराबाजी गरिरहेका एमाले सांसदको ध्यानाकर्षण गराएका थिए। उनले दोस्रो बैठकमा पनि नाराबाजी भएपछि ऐन, कानुनबमोजिम अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सदन चलाउन सहयोग गर्न आग्रह गरेका थिए। पहिलो बैठक ४ बजेलगत्तै सुरु भएको थियो।
प्रतिक्रिया दिनुहोस्