बुटवल, भदौं २३ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले संसदमा टेबल गरेपछि मात्रै एमालेले आफ्नो निर्णय गर्ने बताउनुभएको छ ।
बुधबार बुटवलमा पत्रकारहरुसँग नेता पौडेलले भन्नुभयो, ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं । बरु सरकार नै यसबारेमा रंगिबिरंगी छ ।’
पार्टी विभाजनको प्रसंगमा नेता पौडेलले लुम्बिनीमा एमाले विभाजित नभएको र कथित विभाजन सर्पले काँचुली फेरेजस्तै मात्रै भएको टिप्पणी गर्नुभयो ।
कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर ४० प्रतिशतलाई २० प्रतिशतमा झारेर विभाजनको कोशिश गरिएको पनि उहाँको भनाइ थियो । माधव नेपालले एमाले विभाजन गर्नु दाजुभाइसँग रीस उठेर आमामाथि बन्चरो प्रहार गरेजस्तै भएको भन्दै यो गम्भीर अपराध भएको र विभाजन सिद्धान्त र एजेण्डा विपरित रहेको पनि उल्लेख गर्नुभयो ।
आउँदो चुनावमा पार्टीले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने दावी गर्दै नेता पौडेलले माधव नेपाल नेतृत्वको पार्टी एक्लै चुनाव लड्न नसक्ने भएकाले महागठबन्धनको प्रयास भइरहेको टिप्पणी गर्नुभयो ।
सभामुख अग्नि सापकोटा दलको कार्यकर्ताका रुपमा देखिएको आरोप पनि लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्