काठमाडौं, भदौ २२ । असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको टाइसिट ‘ड्र’बाट सार्वजनिक गरिएको तालिकामा द राइजिङ क्लब र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्ने भएका हुन् । यस्तै दिनको दोस्रो खेल स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच हुनेछ । असोज २ गतेदेखि २२ गतेसम्म पोखरास्थित बहुउद्देश्य कभर्डहलमा हुने प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।
जसमा बागमती प्रदेशबाट ४ सहित अन्य प्रदेशबाट ६ टोलीको सहभागिता हुनेछ । शीर्ष दुई टोलीबीचको प्रतिस्पर्धाबाट जित निकाल्ने टोली सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले तेस्रो र चौंथो स्थानका टोलीबीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट पिभोट (मिडफिल्डर)÷आला (विंगर), फिक्सो (डिफेन्डर), प्रशिक्षक, उदीयमान खेलाडी र गोलरक्षकले समान २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्