बागलुङ । निर्माण कार्य थालेको लामो समय बितीसक्दा पनि बागलुङ जिल्लाको बलेवा विमानस्थलको काम सकिएको छैन् । निर्माण ब्यवसायीको लापरबाहीका कारण धावनमार्ग निर्माण थालेको दुई वर्ष बितिसक्दा पनि काम नसकिएको हो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षातको कारण देखाउँदै विमानस्थल निर्माण पक्षले दुई पटक म्याद थपेको छ ।
पछिल्लो पटक थपिएको समय सकिदा पनि धावनमार्ग कालोपत्रेको काम सकिएको छैन् । धावनमार्ग कालोपत्रेको जिम्मा लिएको निर्माण व्यवसायीले कोरोना कहर र वर्षात्का कारण समयमै काम सम्पन्न गर्न नसकेको बताएको छ । दुई पटकसम्म म्याद थपेको नागरिक उड्ययन प्राधिकरणले पनि धावनमार्ग निर्माण गर्न नसकेको निर्माण कम्पनीलाई ताकेता नगराएको स्थानीयको आरोप छ ।
विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्न नागरिक उड्ययन प्राधिकरणले २०७६ फागुनमा ठेक्का लगाएको थियो । धावनमार्ग कालोपत्रेको जिम्मा काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुलाई दिइएको छ । २०७७ माघ मसान्तसम्म कालोपत्रे सक्ने भनिए पनि कोरोना लगायतका कारण देखाउँदै २०७८ असार मसान्तको समय थपिएको थियो । पछिल्लो पटक थपिएको समय सकिएको महिना दिन हुदा न त निर्माण काम सकिएको छ न काम नै चालु छ ।
धावनमार्ग कालोपत्रेका लागि फेरी पनि समय थप्ने प्रकृयामा निर्माण पक्ष लागेको पाइएको छ । निरन्तरको वर्षाका कारण कालोपत्रे गर्न समस्या भएकाले असोज सम्म सक्ने गरी ठेक्का थप गर्न थालेको नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर मिनराज ओझाले जानकारी दिनुभयो । कालोपत्रे गर्नका लागि आवश्यक कच्चा सामाग्री ढुवानी गर्ने सडक रहेको कालिगण्डकी करिडोर बर्खा लागेपछि अबरुद्ध छ । बलेवा विमानस्थलको धानवमार्ग कालोपत्रेको पूर्वाधार निर्माण भने सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्