नरेन्द्र मानन्धर
काठमाडौं । त्रिभुवन चन्द्र कलेज नाममा एक सय चार वर्ष अघि स्थापना भएको नेपालकै जेठो कलेज हो, त्रिचन्द्र कलेज । त्रिभुवन विश्व विद्यालयभन्दा ४० वर्षअघि स्थापना भएको यस कलेजले थुप्रै नेता, कलाकार, साहित्यकार, बैज्ञानिक, इन्जिनियर लगाएतका विशिष्ठ व्यक्तित्वहरु जन्माएको छ ।
तर विडम्वना नै मान्नु पर्छ, यस्तो गौरवपूर्ण इतिहास बोकेको कलेजको अस्तित्व मेटिन थालेको छ । २०७२ सालको महाभूकम्पले क्षति पु¥याएपछि संरक्षणको अभावमा दक्षिणी भाग पूर्ण रुपमा जीर्ण बनेको छ । पटना विश्व विद्यालयबाट सम्बन्धन लिएर सुरु गरिएको यो कलेजले नेपालको शैक्षिक विरासत बोकेको बताउनु हुन्छ इतिहास विभागका प्रमुख प्राध्यापक डाक्टर गोविन्दमानसिंह कार्की ।
बर्खाको पानीले जीर्ण बन्दै गएको भवनको माथिल्लो तला भत्किसकेको छ । दक्षिणी भाग कुनै पनि बेला भत्किन सक्छ । अहिले हेर्दा यस्तो लाग्छ मानौ यो कुनै भूत बंगला हो । सरकारले संरक्षणमा चासो नदेखाउँदा यहाँका गुरु चेलाहरु दुःखी छन् ।
भवन जिर्णोद्धार नहुँदा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् । धेरै जसो भवनको ठाउँ ठाउँमा र कक्षा कोठामा पानी चुहिन्छ । झारपातले गाँजेको छ । कलेजको इतिहास लेख्नु भएका कार्की कुनै पनि हालतमा यसको संरक्षण गर्नु पर्ने बताउनु हुन्छ । नभए नेपालको शैक्षिक इतिहास ओझेलमा पर्ने उहाँको भनाइ छ ।
यो ढुंगा, ईँटा, चुना र सुर्कीले बनेको भवन मात्र होइन । प्राज्ञिक शैक्षिक जीवन्त धरोहर पनि हो । अबौ खर्चेर नयाँ नक्कली धरहरा बनाउन सक्नेले मुलुकको शैक्षिक इज्जत बोकेको कलेजको संरक्षण गर्न नसक्नु अदूरदर्शिता र नपुंसक मानसिकको उपज हो ।
प्रतिक्रिया दिनुहोस्