
काठमाडौं, साउन १६ । ‘स्तनपान जीवनको आधार’ भन्ने मूल नाराका साथ बुधबारदेखि यस वर्षको विश्व स्तनपान सप्ताह सुरु भएको छ ।
सप्ताहको सुरुआतसँगै काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागमा स्तनपानकक्षको शुभारम्भ गरिएको छ ।
दुईजना महिलाले एकैचोटी स्तनपान गराउनसक्ने क्षमता रहेको कक्षमा हात धुने, बच्चा सुताउने ठाउँ र सन्देशमूलक सामग्री राखिएको छ ।
युरोपेली युनियन र युनिसेफको सहयोगमा यस वर्ष देशका विभिन्न ३० ओटा स्थानमा यस्तै स्तनपान गराउने कक्ष स्थापना गरिने विभागले जनाएको छ ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ को तथ्यांकअनुसार नेपालमा पूर्णस्तनपान गराउनेको संख्या ६६ प्रतिशत छ । शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ ।
यस्तै, स्तनपान गराउनुअघि १० नवजात शिशुमध्ये तीन नवजात शिशुलाई घ्यू, मह, चिनी चटाउने गरिएको पनि विभागले जनाएको छ ।
शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्न साताव्यापी कार्यक्रम गरिएको हो ।
आमाको पहिलो दूध बच्चाका लागि अमृतसमान हुने र त्यसले बच्चामा धेरै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउने चिकित्सकहरु बताउँछन् ।
आमाको दूधमा रोगनासक तत्व हुन्छन् । तर, अझैपनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनले विश्वका धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक नरहेको जनाएको छ । संगठनले आमाको दूध बच्चालाई स्वस्थ राख्ने पहिलो खोप भएको जनाएको छ ।
बाल्यकालमा प्रशस्त मात्रामा आमाको दूध खान नपाएकालाई मधुमेह रोग लाग्ने सम्भावना हुन्छ ।
चिकित्सकहरुले बालबालिकालाई स्वस्थ राख्न ६ देखि ८ महिनासम्म आमाको दूध उत्तम आहार हुने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्