Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


५० दिनसम्म पनि मन्त्रिपरिषद् अपुरै


0
Shares

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दिन झन्पछि झन् सकस परिरहेको छ ।

आफ्नै दलभित्र मन्त्रीहरू छान्न सकस हुँदा र सत्तारूढ दलहरूबीच मन्त्रालयको भागबन्डासमेत नटुंगिँदा मन्त्रिपरिषद् विस्तार अझै अन्योलमा छ । आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नै मन्त्रालयले नेतृत्व नपाउँदा नियमितबाहेकका अन्य काम प्रभावित बनेका छन्।

प्रधानमन्त्रीको सचिवालयले चाँडै मन्त्रिपरिषद्ले पूर्णता पाउने जनाउँदै आए पनि प्रधानमन्त्री देउवालाई भने मन्त्रिपरिषद् विस्तार गर्न हम्मे परेको छ ।

प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रसहित नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् । मन्त्रालयको भागबन्डा र पार्टीभित्र मन्त्रीहरू छान्ने सकसले मन्त्रिपरिषद् विस्तार नै प्रभावित बन्न पुगेको हो ।

प्रधानमन्त्री देउवा कांग्रेस सभापतिसमेत हुन् । उनको आफ्नै पार्टी महाधिवेशनमा होमिँदा सदस्यतालगायतका विवादले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन पुगेको हो ।

राजधानी