
काठमाडौं । मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ ।
अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ । १२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो ।
१४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ ।
देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको घोषणा गर्दै आफ्नो टिम बनाउन थालेसँगै चौथो गुटका रूपमा निधि पक्ष स्थापित हुने निश्चित देखिएको छ ।
देउवा गुटमा नेताहरू विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, रमेश लेखक, गोपालमान श्रेषठ तथा महालक्ष्मी उपाध्याय, डिनालगायतका प्रभावशाली नेताहरू छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा डा. रामशरण महत, डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसीलगायतका प्रभावशाली नेताहरू छन् ।
सिटौला गुटमा भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं, गगन थापा, प्रदीप पौडेललगायतका प्रभावशाली नेताहरू छन् । निधि गुटमा पनि प्रभावशाली नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, प्रदीप गिरीलगायत तराई क्षेत्रका थुप्रै नेता सक्रिय छन् ।
प्रतिक्रिया दिनुहोस्